सांकेतिक तस्वीर
राज दयाल
ओखलढुंगा । जिल्लामा जीप दुर्घटनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई जनाको घटना स्थलमै र एक जनाको उदयपुरको घुर्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको बा १७ च १०९४ नम्बरको जीप आज (बुधबार) बिहान करिब १० बजेतिर जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ र ७ को सिमानामा पर्ने बान्द्रे भीरमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र कार्की र जवान मानिक राजवशींको घटनामा स्थलमै मृत्यु भएको हो ।
त्यस्तै, अर्का प्रहरी जवान रुपक विष्टको भने उपचारको क्रममा घुर्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धब पोखरेलले जानकारी दिनुभयो ।
जीपमा चालकसहित ९ जना सवार थिए । घाइते हुनेमा प्रहरी निरीक्षक ऋषीराज ढकाल, प्रहरी सहायक निरीक्षक धनराज खतिवडा, प्रहरी नायव निरीक्षक नवराज दाहाल, हवल्दारद्धय विशाल श्रेष्ठ र भुपेन्द्र खनाल र सवारी चालक लिलाप्रसाद खनाल रहेका छन् ।
घाइतेहरुको उद्वार गरी घुर्मी स्थित जनसेवा हेल्थ केयर र आस्था लाईफ हेल्थकेयरमा सामान्य उपचार पश्चात गम्भीर घाइते पाँच जनालाई हेलिकोप्टर मार्फत काठमाडाैं पठाईएको छ । दुर्घटना भएको जीप जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट हात हतियार लिएर प्रदेश १ स्थित प्रदेश प्रहरी कार्यालय विराटनगर हिँडेको थियो ।
जिप सडकबाट झण्डै सय मिटर तल भीरमा खसेको बताईएको छ । दुर्घटनाको कारण खुलि नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।