काठमाडौं । नेपालका १५ वटा मूलधारका सञ्चार गृहका समाचार,कार्यक्रम र अन्य जानकारी एउटै मोबाइल एप्सबाट प्राप्त गर्न सकिने भएको छ ।
मिडिया एलायन्स नेपालमा आबद्ध १५ वटा मूलधारका सञ्चार गृहले विश्वसनीय र सत्य समाचार शीघ्रातिशीघ्र आमपाठकसमक्ष ल्याउने उद्देश्यले एक नेपाल नामक एप प्रयोगमा सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७९ सँगै विहीवारबाट प्रयोगमा ल्याइएको एक नेपाल मोबाइल एप्समा समाचारका साथै प्रिन्ट पीडीएफ, लाइभ रेडियो र लाइभ टिभी एक ठाउँमा उपलब्ध रहेको छ ।
पछिल्लो समय सम्पूर्ण नेपाली मिडिया क्षेत्रलाई नै असर पर्नेगरी असत्य, भ्रामक र अतिरञ्जित समाचार आउन थालेको महसुस गर्दै मिडिया एलायन्स नेपालले पाठकमा विश्वसनीय र भरपर्दो समाचार छिटोभन्दा छिटो पुर्याउन एक नेपाल एप परियोजना ल्याएको हो ।
‘हामी पेसागत प्रवद्र्धनका लागि संगठित भएका हौं तर हाम्रो अन्तिम लक्ष्य भनेको मिडियाका पाठक नै हुन् । उनीहरूले सही समाचार पाएका छैनन् भने हामी संगठित हुनुको के अर्थ ?’ मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार भन्छन्, ‘यस एपले पाठकप्रतिको हाम्रो सेवाभाव र इमानदारी साबित गर्नेछ । सुरुमा मिडिया एलायन्सका सदस्य मात्र यस एपमा भए पनि पछि अरू मिडियालाई पनि समिटिनेछ ।’
‘मूलधारको मिडिया यसरी एउटा साझा मञ्चमा आएर सत्य समाचार मात्र दिने भनेर प्रतिबद्ध हुनु ठूलो कुरा हो । सत्य र सकारात्मक समाचारले समाजमा राम्रो प्रभाव पार्छ । मूलधारको मिडियाका लागि यो अति आवश्यक समयसान्दर्भिक परियोजना हो । यसमा चुनौती पनि धेरै छन् । सुरुवात भयो, यो राम्रो कुरा हो,’ एक नेपालका अध्यक्ष दिरेकलाल श्रेष्ठले भने, ‘अब हरेक तीन महिनामा सेवाग्राहीको सुझाव लिएर नयाँनयाँ फिचर थप्नेछौं ।’
आमपाठकलाई सत्य समाचार दिन नसके मिडिया एलायन्स नेपालको अर्थ नहुने सोचका साथ ल्याइएको एक नेपाल एप एलायन्समा आबद्ध सबै सञ्चार गृहको साझा परियोजना हो । मिडिया एलायन्स नेपालमा मूलधारका छापा, रेडियो र टेलिभिजन समावेश रहेकाले सबैको प्रतिनिधित्व झल्किने गरी एक नेपालमा पढ्ने, सुन्ने र हेर्ने तीनै माध्यमबाट सेवा लिन सकिने व्यवस्था छ । प्रिन्ट पीडीएफ, लाइभ रेडियो र लाइभ टिभी एक ठाउँमा पाइने भएकाले एक नेपाल सबैको प्रिय हुने विश्वासिलो मिडिया एलायन्स नेपालको छ ।
समाचारसँगै यस एपमा आमव्यक्तिको जीवनमा अति आवश्यक प्रयोगका विषय पनि समेटिएका छन् । सेयर बजार, सुनचाँदी मूल्य, मौसमी विवरण, विदेशी मुद्रा सटही दर, मिति परिवर्तन, भूमि परिमाण हिसाब, वजन क्याल्कुलेटर, युनिकोड रूपान्तरण, ईएमआई हिसाबलगायतका आधारभूत विषयमा पनि एपबाट जानकारी लिन सकिनेछ ।
अहिले बेटा भर्सनमा लन्च गरिएको एक नेपाल केही महिनाभित्रै सेवाग्राहीहरूको सुझावसमेत समेटेर फुल भर्सनमा अपडेट गर्ने तयारी रहेको श्रेष्ठले जानकारी दिनुभयो । ‘गलत र भ्रमपूर्ण समाचारविरुद्ध सही र शीघ्र समाचार’ नाराका साथ आएको एक नेपालले अनावश्यक भ्रम र तनाव बोकेर हिँड्न बाध्य लाखौं पाठक, दर्शक र स्रोतालाई बौद्धिक तथा मानसिक सुरक्षा प्रदान गर्ने मिडिया एलाइन्सको विश्वास छ ।
एक नेपाल एप दुवै एनड्रोइड र आईओएसमा डाउनलोड गरी जो–कोहीले उपयोग गर्न सकिन्छ । साथै अनलाइनमा पनि हेर्न,पढ्न र सुन्न सकिन्छ ।