इलाम । आशिष स्मृति पत्रकारिता पुरस्कार जनता टेलिभिजनका इलाम संवाददाता भगिरथ भण्डारीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाले प्रत्येक वर्ष बैशाख १ गते प्रदान गर्दे आएको आशिष स्मृति पत्रकारिता पुरस्कार २०७९ पत्रकार भण्डारीलाई प्रदान गरेको हो ।
इलाम शाखाको आयोजनामा भएको पुरस्कार वितरण समारोहमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले दश हजार राशीसहित प्रमाणपत्र र दोशल्लाले सम्मान गरेकाे थिए ।
कार्यक्रममा इलाम जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, महासंघका १ नं प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, उपाध्यक्षद्वय हिमा चेम्जोङ र लवदेब ढुंगाना, झापा शाखा अध्यक्ष एकराज गिरी, पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय सन्तोषी राईसहित इलाम, झापा र धनकुटाका पत्रकारको सहभागिता थियो । उक्त कार्यक्रममा डा देवी क्षेत्री दुलालले आशिष राईले पत्रकारितामा गरेको योगदानको बरेमा चर्चा गरेका थिए ।
तत्कालीन अवस्थामा रेडियो नेपालमा इलाम जिल्लाबाट समाचार सम्प्रेषण गर्दै आएका स्व आशिष राईको नयाँ वर्ष मनाउँदा २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो । उनकै सम्झनामा पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष साविक मेची अञ्चलका एक जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ ।
राईको स्मृतिमा स्थापित पुरस्कारबाट हालसम्म भण्डारी सहित १८ जना पत्रकार पुरस्कृत भएका छन् । सो पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावतीपरस्कृत भैसकेका छन ।
त्यस्तै पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भइसकेका छन् ।
आशिष स्मृति पत्रकारिता पुरस्कार कोषका लागि महासंघका पूर्व केन्द्रीय सभापति बिष्णु निष्ठुरीबाट १५ हजार नगद उपलब्ध गराएका छन् ।
त्यस्तै, प्रदेश उपाध्यक्ष लवदेव ढुंगानाले ब्यक्तिगत तर्फबाट तीन हजार र झापा अध्यक्ष गिरीले शाखाको तर्फबाट सात हजार सात सय सतहत्तर रूपैयाँ सहयोगको घोषणा गरेका छन्।