हुमाकान्त पोखरेल
गुल्मी । गुल्मेली समाज जापानले गुल्मीका विभिन्न संघ–संस्थाहरुलाई सहयोग गरेको छ । समाजले जिल्लाका पत्रकार महासंघ, आशा अपाङ्ग केन्द्र र गुल्मी अस्पताललाई सहयोग गरेको हो ।
पत्रकार महासंघका लागि समाजले ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ को घोषणा गरेको छ । उक्त पुरस्कारबाट गुल्मीमा रहेर क्रियाशील पत्रकारिता गर्नेमध्ये वार्षिक रुपमा एक जनालाई नगद २५ हजार पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, समाजले पत्रकार महासंघको संस्थागत विकासका लागि एक लाख प्रदान गर्ने भएको छ । उक्त रकमबाट जिल्लाका क्रियाशील पत्रकारहरु बिरामी वा विपतमा पर्दा सहयोग गरिने महासंघका अध्यक्ष टोपलाल अर्यालले बताउनुभयाे ।
शनिवार पत्रकार महासंघ, गुल्मीको तर्फबाट टोपलाल अर्याल, उपाध्यक्ष रेशम कुँवर र सीता भण्डारी एवम् समाजको तर्फबाट अध्यक्ष महेन्द्र कुमार अधिकारी र सल्लाहकार गोविन्द रिजालबीच सहयोग र पत्रकारिता पुरस्कारको सम्झौता भएको छ ।
अस्पताल र आशा अपाङ्गलाई कपडा धुने मेशिन
गुल्मेली समाज जापानले आशा अपाङ्ग केन्द्र र गुल्मी अस्पताललाई कपडा धुने मेशिन सहयोग गर्ने भएको छ । मेशिन किन्नकै लागि समाजले आशा अपाङ्ग केन्द्रलाई ८५ हजार सहयोग गरेको केन्द्रका अध्यक्ष जनार्दन घिमिरेले जानकारी दिनुभयाे। मेशिनबाट केन्द्रमा रहेका फरक क्षमता भएकाहरुलाई सहज हुने घिमिरेले बताउनुभयाे ।
गुल्मी अस्पतालको लागि भने जाडोयाम सुरु नहुँदै मेशिन पठाउने भएको छ । शनिवार भएको भेटघाट कार्यक्रममा जाडो महिना शुरु नहुँदै समाजले कपडा धुने मेशिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको अस्पतालका अध्यक्ष भरत पाण्डेयले जानकारी दिनुभयाे ।
त्यस्तै, अस्पतालमा तत्कालका लागि भुँइको फोहोर सफा गर्ने मेसिन उपलब्ध गराउने सहमति भएको पाण्डेयले बताउनुभयाे । अस्पतालमा समाजले कुल दुई लाख बराबरको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । गुल्मेली समाज जापानले कोभिडको समयमा पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाको लागि १५ लाख बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
यसरी सहयोग प्रदान गर्ने समाजलाई पत्रकार महासंघ, आशा अपाङ्ग केन्द्र र गुल्मी अस्पतालले सम्मान गरेकाे थियाे ।