विनोद आचार्य
इटहरी । नेपाल प्रेस युनियन सुनसरीले प्रेस युनियनको इतिहासमा अहिलेसम्मकै ठूलो राशिको अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । युनियन सुनसरीले एसजी अर्गनाइजेसनसँगको समन्वयमा पाँच लाख राशीको अक्षयकोष स्थापना गरेको हो ।
इटहरीमा शनिवार आयोजित एक कार्यक्रममा प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सुनसरी युनियनले उक्त अक्षयकोष मार्फत प्रत्येक वर्ष जनही एकाउन्न हजार एक सय रुपैयाँका दरले एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ।
त्यसैगरी, सोही संस्थासङ्गको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेम कुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रममा जानकारी दिइएको छ। उक्त पुरस्कारकालागी १० लाख राशीको अक्षयकोष स्थापना गरिने छ ।
युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार ५१ हजार एक सय राशिको गोविन्द खेम कुमारी सृजनशील पत्रकारिता पुरस्कार सुनसरीमा रहेर समाजको हितमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने छ ।अधिकारीका अनुसार नेपाल प्रेस युनियनले देशभर प्रदान गर्ने पुरस्कारहरु मध्ये यो पुरस्कार देशकै सबैभन्दा ठुलो राशिको पुरस्कार हो । ब्यवसायी घिमिरेले आफ्ना बुबा आमाको स्मृतिमा प्रेस युनियन सङ्गको सहकार्यमा अक्षय कोषका लागि सो रकम प्रदान गरेका हुन ।
सम्झौता पत्र अनुसार अर्गनाईजेसनले प्रत्येक वर्ष अर्गनाइजेसनको औद्योगिक व्यापारिक प्रतिष्ठान मार्फत वार्षिक एक लाख एक हजार गोबिन्द खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि उपलब्ध गराउने उल्लेख छ। त्यसगरी, अक्षयकोषका लागि ५ लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने र त्यसबाट प्राप्त ५१ हजार एक सय रुपैयाँको गोबिन्द खेम कुमारी स्मृति सृजनसिल पत्रकारिता पुरस्कार सुनसरीमा कृयाशिल रहेर पत्रकारिता गर्ने पत्रकारलाई प्रदान गरिने छ ।
अर्गनाइजेसनका तर्फबाट निर्देशक सुदिप घिमिरेले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चारकर्मीसँग सहकार्य गरेको बताए । पत्रकारका हक हितका लागि निरन्तर काम गर्दै आएको लोकतान्त्रिक संस्था युनियनले गरेको यो काम प्रशंसा योग्य रहेको नेपाल प्रेस युनियन सुनसरीका पूर्व सभापति एवं पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीले बताए । उनले युनियनले पत्रकार महासङ्घले गर्नुपर्ने कामहरू गर्दै आएको बताए ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले संस्थाले पैसालाई उपयोगी ठाउँमा लगानी गरेको बताउँदै युनियनका युवा नेतृत्वले त्यसलाई उपयोगी गराउने बताए । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रोहित प्रसाईँले पनि युनियन सुनसरीले सञ्चारकर्मीका लागि उल्लेख्य काम गरेको बताए ।
प्रसाईँले आफ्ना स्व। बुबा आमाका नाममा युनियन सुनसरीको भवन निर्माणका लागि जग्गा प्रदान गरेका छन् । केही दिन अधि प्राप्त जग्गामा युनियन सुनसरी भवन निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ ।
सम्झौता पत्र