काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयससबीच भेटवार्ता भएको छ।
आज (बिहीवार) मध्यान्ह काठमाडौं आइपुग्नुभएका डब्लुएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वास्थ्यमन्त्रालयमा भेटवार्ता भएको हो।
भेटवार्ताका अवसरमा महानिर्देशक डा टेड्रोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालले समर्थन गरेको छ।
तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा ट्रेडोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उहाँको उमेद्धारीलाई समर्थन जनाउनुभएकाे छ ।
नेपाल सन् १९५३ मा डब्लूएचओसँग आवद्ध भएदेखि नै नेपाल र डब्लूएचओबीच उत्कृष्ट कार्यात्मक सम्बन्ध रहिआएको भन्दै मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा प्रशंसा गर्नुभयाे ।
उनले औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न सहयोगका लागि अनुरोध गर्नुभयाे ।
भेटका क्रममा मन्त्री खतिवडाले नेपालले स्वास्थ्य सेवाहरूमा सबैको समतामुलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा गर्ने योजना बनाएको बताउनुभयाे ।
भेटवार्ताका अवसरमा डा टेड्रोससँग आएको डब्लुएचओको टोली र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पनि उपस्थित हुनुहुन्थ्याे ।