काठमाडाैं । विगत पाँच वर्षको राजनीति सम्झिदाँ जनताले निमार्णभन्दा बढी खिचातानीको किस्सा सम्झिन्छन् । अर्कोतिर राजनीतिक अस्तित्व अवगत गराँउन कहिले जनताको ज्यान जाने विद्रोह कहिले फेरि निर्वाचन, नेपाल कम्युनिष्ट पार्टीको नियति बनेको छ ।
विगत पाँच वर्ष, केन्द्रमा उस्तै रवैया र स्थानीय तहमा प्रायः उही अनुहारको चर्चा चलिरहदाँ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने यसलाई राजनीतिक संकटपछिको अवस्था र परम्परागतभन्दा भिन्न निर्वाचन बताउँदै निर्वाचनमा जाने बताएको छ ।
११ दिनसम्म चलेको केन्द्रीय कमिटीमा असहमतिका बुलन्द आवाजसँगै निर्वाचनमा जानु पार्टी नेतृत्वको लागि बाध्यता बनेको छ । केही समयअघि मात्रै सरकारसँग शान्तिपूर्ण सम्झौतामा आएको पार्टीसँग निर्वाचन बहिष्कार गर्ने कुनै कारण छैन । सरकारलाई विद्रोही पार्टीसँग छलफल नगरी गैरजिम्मेवार तरिकाले तोकेको निर्वाचन सार्न आग्रह गरेको दल निर्वाचन आयोगमा दर्ता हुन छुटिसक्दा पनि निर्वाचनमा जाने निर्णय गरेको छ।
वर्तमान संविधानलाई विदेशी मुद्दा समष्टि र डमी स्वरुप अनि संसदीय व्यवस्थालाई दलाल पुँजीपतिको संरक्षक व्यवस्था भएको पार्टीले दाबी गर्ने गरेको छ । सेल्टर दिन तयार जनताले स्थानीय निर्वाचनको उपभोग गर्नुपर्ने सुझाव अनुसार निर्वाचनमा होमिएको बताउने पार्टी प्रवक्ताले निर्वाचनको उपभोग समेत एकीकृत जनक्रान्तिको एक हिस्सा भएको बताएका छन् । एमसीसी विरोधी, राष्ट्रघातका विरुद्ध उभिँदै आएका संसदीय दलका प्रतिनिधिहरुलाई समेत समर्थन गरेर जान सकिने पार्टीले बताएको छ ।
संसदीय दलहरुसँगको भिन्दाभिन्दै भेटमा समाजवादी व्यवस्थाका लागि जनमत संग्रह गर्न सकरात्मक कुरा हुने भए पनि निर्णय लिनुपर्ने बेलामा आमराजनीतिक सहमति नजुट्ने भन्दै मुख्य दलहरुले टार्ने दुखेसो उक्त पार्टीसँग छ । सरकारले हस्ताक्षर गरिसकेपछि ३३ जना अझै कैदी हुनु र हरेक नेताले मुद्दा बोकेर हिड्नुपर्ने अवस्थाले सरकार पक्षको विश्वसनीयता घटेको उक्त पार्टीको बुझाइ छ ।
हस्ताक्षरपछिको उदासिनता, निर्वाचन तोक्नुअघि आफूहरुसँग छलफल नहुनु राज्यपक्षको गैरजिम्मेवार बताइरहेको उक्त पार्टीसँग राज्यले विश्वसनीयता र सौहार्दतासँगै संवाद कायम गर्नु आवश्यक देखिन्छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग जनता टेलिभिजनकाे कार्यक्रम विशेष समयमा वरिष्ठ पत्रकार टंक पन्तले गर्नुभएको भिडियाे कुराकानी :