राज दयाल
ओखलढुंगा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगाले जिल्लाका सबै पालिकामा उम्मेदवारको टुङगो लगाएको छ। जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले शनिवार राति करिब २ बजे सबै स्थानीय तहका प्रमुख र उपप्रमुख लगायत उम्मेद्वारहरूकाे टुंगो लगाएको हो ।
एक नगरपालिकासहित ८ स्थानीय तह रहेको ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुखमा इच्छाकुमारी गुरुङ र उपप्रमुखमा केदारबाबु बस्नेतलाई उम्मेदवार चयन गरिएको छ । गुरुङ यसअघि नगरपालिका उपप्रमुख हुनुहुन्थ्यो भने बस्नेत नगरपालिकाकै १ नम्बर वडा अध्यक्ष हुनुहुन्थ्यो ।
त्यसैगरी, मानेभन्ज्याङ गाउँपालिकाको प्रमुखमा रुपलाल तामाङ र उपप्रमुखमा अम्मता राई छन् । सुनकोशी गाउँपालिकाको प्रमुखमा सुनिल खड्का, उपप्रमूखमा सरस्वती कार्की (तारा), चिशंखुगढी गाउँपालिकाको प्रमुखमा अशोक थापा र उपप्रमुखमा सुष्मा राई छन् ।
मोलुङ गाउँपालिकाको प्रमुखमा उत्तम राई र उपप्रमुखमा उर्मिला खतिवडा ,खिजिदेम्बाको प्रमुखमा रामबहादुर खत्री र उपप्रमुखमा कमला सुनुवार रहेको एमाले जिल्ला कमिटी अध्यक्ष शंखर कट्वालले जानकारी दिनुभयो ।
राती मात्रै उम्मेदवारी टुङगो लागेकाले आज (आइतबार केही पालिकामा मात्रै मनोनयन दर्ता गरिने र अन्यमा भोलि गरिने तयारी रहेको उहाँको भनाइ छ।
त्यसैगरी, केही पालिकामा अन्य साना दलसँग गठबन्धनको सम्भावना अझै भएकाले उपाध्यक्ष पद छोडेर गठबन्धन हुन सक्ने समेत बुझिएको स्रोतले जनाएको छ ।