काठमाडाैं । विगत २६ वर्षदेखि लोकतन्त्रका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गर्दै सोह्रौ लोकतन्त्र दिवस मनाएको छ ।
वैशाख ११ गते सोह्रौँ लोकतन्त्र दिवसका उपलक्ष्यमा शान्ति समाजद्वारा रुपन्देहीको वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायित्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहभागिहरुले लोकतन्त्र जिन्दावाद, मितव्ययी निर्वाचन : भ्रष्टाचारमुक्त शासन, दिगो लोकतन्त्रका लागि सुशासन, आजको आवश्यकता : प्रविधिमैत्री निर्वाचन, लोकतन्त्रको आधार : शान्ति र मानव अधिकार, लोकतन्त्रको गन्तव्य : दण्डहीनताको अन्त्य, वैज्ञानिक शिक्षा : सबैको अधिकार, गुणस्तरीय स्वास्थ्य सेवा : सबैको अधिकार, लोकतान्त्रिक संस्कृति : अहिंसात्मक जीवनधारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
यसैगरी, वैशाख ११ गते शान्ति समाज तेह्रथुम शाखाले सदरमुकाम म्याङ्लुङमा आयोजना गरेको प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सदस्य लक्ष्मीनारायण मिश्र र शाखा सभापति टिकाराम खुलालले लोकतन्त्रको स्थायीत्व र सम्मानका विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शान्ति समाज काठमाण्डौ शाखाद्वारा लोकतन्त्र दिवसका अवसरमा वैशाख ११ गते काठमाडाैंमा आयोजित शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन विषयक गोष्ठीमा शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी र राजनीतिक समाजका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी, लोकतन्त्र दिवसकै अवसरमा शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित अन्तरक्रियामा शान्ति समाजका वरिष्ठ उपसभापति शुसील बस्नेत, सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनार, सहसचिव उषा गौतम लगायत नागरिक समाज र राजनीतिक समाजका गरि एक दर्जन वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शाखा सचिव निर्मला डाँगीले गर्नुभएको थियो ।
लोकतन्त्र दिवसकै अवसरमा शान्ति समाज कास्की शाखाद्वारा वैशाख ११ गते पोखरामा निर्वाचन आचारसंहिता सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । कास्की शाखा सभापति तिर्थराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण शाखा सचिव सावित्री पौडेल शर्माले गर्नुभएको थियो ।
सोह्रौं लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते साँझ शान्ति समाजका एक दर्जन शाखाले दिप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछन् ।
२०६२/६३ को ऐतिहासिक जन आन्दोलनको पृष्ठभूमिमा योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले वैशाख ११ गते लोकतन्त्र दिवस देशव्यापी रुपमा कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।