काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा माओवादी केन्द्रका एक वडा सदस्य निर्विरोध हुनुभएको छ ।
माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसमेत रहेका सीताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्विरोध हुनुभएको हो। धवलागिरी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले १ नं वडाको महिला सदस्य पदमा छन्त्यालको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताउनुभयो।
छन्त्याल निर्विरोध भएसँगै माओवादीले स्थानीय तह चुनावमा मतदान नहुँदै म्याग्दीमा खाता खोलेको छ। छन्त्याल निर्विरोध हुने जिल्लाको एक मात्र उम्मेद्वार बन्नुभएको छ। धवलागिरिको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उम्मेदवारी परेको छ।
मुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राति ११ बजेसम्म मनोनयन दर्ता गरिएको थियो। गाउँपालिका अध्यक्षमा पाँच,उपाध्यक्षमा तीन,वडाअध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताउनुभयो।
गाउँपालिका अध्यक्षमा एमालेका थमसरा पुन, कांग्रेसका प्रेमप्रसाद पुन, नेकपा एकीकृत समाजवादीका बमबहादुर पाइजा, राप्रपाका होमबहादुर थापा र नेशनल मंगोल अर्गनाइजेशनका सकबहादुर पुन मगरले मनोनयन दर्ता गर्नुभएको छ।
उपाध्यक्षमा एमालेका प्रगति कार्की,नेकपा माओवादी केन्द्रका रेशम पुन र मंगोेल नेशनल अर्गनाइजेशनका खममाया रोकाको मनोनयन दर्ता भएको छ। थमसरा पुन एमालेबाट दोस्रोपटक धवलागिरिको अध्यक्षमा उम्मेदवार बन्नुभएको हो।
एमालेका जिल्ला उपसचिवसमेत रहेकी पुन गत स्थानीय तह चुनावमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो।धवलागिरिमा कांग्रेस र माओवादीले वडा तहसम्मनै तालमेल गरेका छन्। गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका प्रेमप्रसाद पुन कांग्रेसको धवलागिरि गाउँपालिका सभापति हुनुहन्छ ।
गाउँपालिका अध्यक्षमा एमालेबाट आकांक्षी रहेका होमबहादुर थापाले राप्रपाबाट टिकट लिएर अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ। थापा गत पुसमा भएको एमालेको पालिका अधिवेशनबाट धवलागिरि गाउँपालिका कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको थियो।
एमालेले धवलागिरिको अध्यक्षमा पुन र उपाध्यक्षमा कार्कीलाई सोमबार बिहान मात्र उम्मेद्वार छनोट गरेको थियो। उम्मेद्वार छनोटमा असन्तुष्टि जनाउँदै थापा राप्रपा प्रवेश गरेर अध्यक्षको उम्मेद्वार बन्नुभएको हो।
घरपझोङको वडा नं ५ मा एमालेका प्रदीप थकालीको एकल उम्मेद्वारी परेको छ। निर्वाचन आयोगले दाबी–विरोधलगायत प्रक्रिया पूरा भएपछि मात्र एकल उम्मेद्वारी परेको ठाउँमा निर्विरोध घोषणा गर्ने जनाएको छ। घरपझोङको १, २ र ५ मा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र राप्रपाबीच तालमेल भएको हो ।