काठमाडौं । भोजपुरमा सोमबारबाट स्थानीय तहमा उमेद्वारी दर्ता सम्पन्न भएसँगै निर्वाचनको सरगर्मी बढेको छ। मुख्यरुपमा नेकपा एमाले र सत्तागबन्धनमा रहेका दलबीच प्रतिस्पर्धा हुने भएको छ।
एमाले भोजपुरका नौ वटै तहमा एक्लै प्रतिस्पर्धा गर्दैछ भने गठबन्धनका दलहरुले आवश्यकता अनुसार तालमेल गरेका छन्। पौवादुङमा गाउँपालिका,अरुण,आमचोक र साल्पासिलिछो गाउँपालिकाबाहेक पाँच तहमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले साझा उमेद्वार उठाएका छन्। जनता समाजवादी पार्टीले भने यसअघि नै गठबन्धन तोडेर एक्लै चुनावमा गएको छ।
भोजपुर नगरपालिकामा गठबन्धनले कांग्रेसबाट प्रमुखमा कैलाशकुमार आले र उपप्रमुखमा एकीकृत समाजवादीबाट ममिता राईलाई उमेद्वार बनाएको छ। एमालेले प्रमुखमा भरतकुमार तामाङ र उपप्रमुखमा निर्मला शेर्पालाई अघिसारेको छ।
षडानन्द नगरमा गठबन्धनले प्रमुखमा कांग्रेसबाट वीरबल राई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट प्रमिला राईलाई उमेद्वार बनाएको छ। गठबन्धनका उमेद्वारसँग एमालेबाट प्रमुखमा सुरेन्द्र उदास र उपप्रमुखमा मेरिका राई प्रतिस्पर्धामा उत्रिएका छन्।
गठबन्धनले टेम्केमैयुङमा कांग्रेसबाट अध्यक्षमा सरोज बस्नेतलाई उठाएको छ,भने उपाध्यक्षमा एकीकृत समाजवादीबाट इन्द्रवती राईलाई उमेद्वार बनाएको छ। गाउँपालिकामा एमालेले अध्यक्षमा ध्रुवराज राई र उपाध्यक्षमा रमा राईलाई उमेद्वार बनाएको छ।
हतुवागढी गाउँपालिकामा पनि कांग्रेसबाट अध्यक्षमा गजेन्द्र कार्की र उपाध्यक्षमा माओवादी केन्द्रबाट सुनिता किराँतीले उमेद्वारी दिएका छन्। एमालेबाट भने अध्यक्षमा प्रेमकुमार राई र उपाध्यक्षमा कमला राईले उमेद्वारी दिएका छन्।
रामप्रसादराई गाउँपालिकामा पनि गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। माओवादी केन्द्रबाट अध्यक्षमा निर्माण किराँती र कांग्रेसबाट उपाध्यक्षमा वीरेन्द्र राईले उमेद्वारी दिएका छन्। एमालेले अध्यक्षमा बलराम राई र उपाध्यक्षमा कमला राईलाई उम्मेद्वार बनाएको छ।
पौवादुङमा, अरुण र आमचोक, साल्पासिलछोमा भने सबै दलले आ–आफ्नै उमेद्वार उठाएका हुन्। पौवादुङमामा एमालेबाट अध्यक्षमा किरण राई र उपाध्यक्षमा ज्योत्सना राईले उम्मेद्वारी दिएका छन्। कांग्रेसको तर्फबाट अध्यक्षमा टेकनरसिं कार्की (मनोज) र उपाध्यक्षमा रामकुमारी राईले उम्मेद्वारी दिनुभएको छ। माओवादी केन्द्रले अध्यक्षमा नगेन्द्र भुजेल र उपाध्यक्षमा सम्झना राईलाई उम्मेद्वार बनाएको छ।
यस्तै आमचोकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा अशोक राई र उपाध्यक्षमा सीता राईले उम्मेद्वारी दिनुभभएको छ। एमालेले अध्यक्षमा वसन्त राई र उपाध्यक्षमा सर्मिला राईलाई प्रतिस्पर्धामा उतारेको छ। कांग्रेसले पनि आफ्नै उम्मेद्वार उठाएको छ। अरुणमा एमालेबाट अध्यक्षमा नारायण घिमिरे र उपाध्यक्षमा कविता राई उमेद्वार बनेका छन्।
कांग्रेसले अध्यक्षमा शालिकराम खत्री र उपाध्यक्षमा विनिता ढकाललाई अघिसारेको छ। माओवादी केन्द्रले एकीकृत समाजवादीसँग मात्र गठबन्धन गरी माओवादीबाट डिल्लीराम अधिकारी अध्यक्षको उमेद्वार बनेका छन्। उपाध्यक्षमा एकीकृत समाजवादीबाट होमबहादुर श्रेष्ठ उपाध्यक्षको उम्मेद्वार बनेका हुन्।
साल्पासिलिछोमा भने गठबन्धनमा रहेका दलले आ–आफ्नै तरिकाले चुनावी प्रतिस्पर्धा उत्रेका छन्। यहाँ कांग्रेसले अध्यक्षमा महेश राई र उपाध्यक्षमा अस्मिता राई, लाई उमेद्वार बनाएको छ भने माओवादी केन्द्रले उपाध्यक्ष पदमा मात्र जलावती राईलाई उम्मेद्वार बनाएको छ। एमालेबाट अध्यक्षमा शान्तिबहादुर अधिकारी र उपाध्यक्षमा रिता घलेको उम्मेद्वारी परेको छ । अध्यक्षमा दौलत कुलुङले स्वतन्त्र उमेद्वार दिएका छन्।
भोजपुरमा नयाँ अनुहारभन्दा पनि अधिकांश पुराना जनप्रतिनिधि दोहोरिएका छन्। स्थानीय तह प्रमुख, उपप्रमुख, वडाअध्यक्षदेखि वडा सदस्यसमेतमा अधिकांश अनुहार पुरानानै देखिएका छन्।
विभिन्न दलरुबाट दुई स्थानीय तहमा प्रमुख र तीन स्थानीय तहमा मात्र उपप्रमुखमा नयाँ उम्मेद्वार आएका छन् । एमाले तीन ओटा स्थानीय तह बाहेक अन्यमा स्थानीय तहमा नयाँ उमेद्वार उठाएको छ। उपप्रमुखमा एउटा स्थानीय तह बाहेक अन्य नयाँ अनुहार रहेका छन्।