काठमाडौं। आसन्न स्थानीय तह निर्वाचनमा उम्मेद्वारले पत्यारिलो तवरले नयाँ प्रतिबद्धता गर्न सकेका छैनन्।
वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेद्वारहरूले पुरानै प्रचार शैली र पुरानै ढर्राका प्रतिबद्धता सुनाउन थालेका छन् ।
भंगाहा नगरपालिका–३ कटैयाकी ६० वर्षीया रामराजी यादव भन्नुहुन्छ, ‘सबैका नारा उही पुराना छन्।’ जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकामा उम्मेदवारहरू पम्पलेट, ब्यानर र अन्य प्रचार सामग्रीसहित मतदातामाझ धाउन थालेका छन्।
भंगाहा–५ सीतापुरका ८५ वर्षीय मानबहादुर भुजेल भन्नुहुन्छ, ‘चुनावी नारा पूरानै छन्, नारामा पत्यार र आकर्षण छैन।’
संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि निर्वाचित जनप्रतिनिधि जिम्मेवार बन्न नसक्दा जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन्।
बर्दिबास–१४ का ७० वर्षीय खड्गबहादुर सिंह भन्नुहुन्छ, ‘जनजीविकाको क्षेत्रमा अपेक्षित सुधार आउन सकेको छैन।’
मुुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएयता यसपालि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ।
आसन्न निर्वाचनमा जनताको मत पाउने अपेक्षासाथ घरदैलो थालेका उम्मेदवारले अब परम्परागत प्रचार शैली र प्रतिबद्धताको सट्टा ठाउँ-ठाउँका आवश्यकता पहिचान गरी तिनको समाधानको प्रक्रिया बताएर आश्वस्त बनाउनुपर्ने अवस्था छ।
सबैजसो मतदाता भेट्न घरघरै पुग्दैछन्। जिल्लामा ७३० पदका लागि तीन हजार ५५३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। दश १० नगरका नगरप्रमुखका लागि १५० र पाँच गाउँपालिकाका अध्यक्ष पदका लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै १० नगरपालिकाका उपप्रमुखमा ३८ र पाँच गाउँपालिका उपाध्यक्षमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जिल्लाका १३८ वडाका वडाध्यक्षका लागि ८८५, वडाका महिला सदस्यमा ५८३, दलित महिला सदस्यमा ५५४ र वडा सदस्यमा एक हजार १७३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी सुवोधकुमार महतोले जानकारी दिनुभयो।
कूल तीन लाख ३६ हजार ९५ मतदाताका लागि २५८ मतदानस्थलमा ४९७ मतदान केन्द्रको व्यवस्था गरिएको छ।