काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ५२० पदका लागि दुई हजार ४१२ जनाले मनोनयन दर्ता गराएका छन्।
दाङका १० वटै स्थानीय तहका विभिन्न पदमा पाँचदलीय गठबन्धन, नेकपा एमाले, अन्य दल र स्वतन्त्रबाट उम्मेद्वारी परेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाका दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, १०० वडाअध्यक्ष र सदस्य पदका लागि उम्मेद्वारी परेको हो।
प्रमुख/ अध्यक्षमा ८७, उपप्रमुख/ उपाध्याक्षमा ६५,वडाअध्यक्षमा ५५१,खुला सदस्यमा ९०३, महिला सदस्यमा ४२८ र दलित महिला सदस्यमा ३७८ जनाको उम्मेद्वारी परेको छ।
घोराही उपमहानगरपालिकामा ४४०, तुलसीपुर उपमहानगरपालिकामा ५३२, लमही नगरपालिकामा २४२, दङ्गीशरणमा १६२, गढवामा १९५, राप्तीमा २३३, राजपुरमा १८८, बङ्गलाचुलीमा ११५, शान्तिनगरमा १४८ र बबईमा १५७ जनाको उम्मेद्वारी परेको कार्यालयले जनाएको छ।
घोराही उपमहानगरपालिका प्रमुखमा १५ र उपप्रमुखमा आठ तथा तुलसीपुर उपमहानगरपालिका प्रमुखमा १२ र उपप्रमुखमा आठ जनाको उम्मेद्वारी परेको छ।
दुई उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल भएको छ। अन्य पालिकामा भने दलहरूले छुट्टाछुट्टै प्यानल खडा गरी उम्मेद्वारी दिएका छन्।