काठमाडौं । रुपन्देहीमा दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेद्वारी परेको छ। १६ स्थानीय तह रहेको जिल्लामा तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा महिला उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।
तिलोत्तमामा नेकपा एकीकृत समाजवादीका तर्फबाट आशाकुमारी चौधरीले प्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ।
रूपन्देहीको जिल्ला कमिटी सचिवालय सदस्य रहनुभएकी ४३ वर्षीया उहाँ अखिल नेपाल महिला संघको जिल्ला उपाध्यक्ष पनि हुनुहुन्छ। तिलोत्तमा १३ मडहा घर भएकी उहाँ व्यवसायी हुनुहुन्छ।
वि सं २०५६ मा नेकपा ९एमाले०को सदस्य बनेर पार्टीमा सक्रिय रहनुभएकी उहाँ पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लाग्नुभएको हो।
उम्मेद्वार चौधरीले बेरोजगार युवालाई सीपमूलक तालिमका साथै महिलाको हक र अधिकार र सशक्तीकरणका लागि आफ्नो उम्मेद्वारी रहेको जानकारी दिनुभयो। उहाँले शिक्षा, रोजगारी र स्वास्थ्यका एजेण्डा लिएर जनतासामु जाने बताउनुभयो।
यसैगरी लुम्बिनीमा लामो समयदेखि समाजसेवामा सक्रिय रमावती यादवले एमालेका तर्फबाट प्रमुख पदमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । दयाराम हेल्थ फाउण्डेशनका उपाध्यक्ष रहनुभएकी उहाँले लुम्बिनी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ।
लुम्बिनी सांस्कृतिक–१ निवासी यादवले सामाजिक सेवामा क्रियाशील रहँदा नागरिकको मनोभावना राम्रोसँग बुझ्ने मौका पाएकाले सोहीअनुसार काम गर्न आफूले उम्मेद्वारी दिएको बताउनुभयो।
महिलामाथिको विभेद अन्त्य, महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा र रोजगारी सुनिश्चित गरी भौतिक विकास र मानवीय विकासको सन्तुलन मिलाएर नगरको विकासको योजना लिएर चुनावी मैदानमा गएको प्रतिक्रिया दिनुभयो।