काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको पाँचवटा वडामा दलित समुदायबाट उम्मेद्वारी नपरेको पाइएको छ।
गाउँपालिकाको वडा नं १, ४, ५, ६ र ७ मा दलित समुदायका लागि व्यवस्था गरिएको आरक्षण कोटामा उम्मेद्वारी नपरेको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो।
वडा समितिमा एक जना दलित सदस्यको अनिवार्य व्यवस्था भएको भए पनि ती वडामा सो पदमा उम्मेद्वारी नपरेको उहाँले बताउनुभयो।
गाउँपालिकाको ७ वटा वडामध्ये २ वडामा मात्र दलित समुदायको उम्मेद्वारी परेको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो। पालिकाको वडा नं २ र ३ मा मात्र दलित महिलाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ।
वडा नं २ मा ल्हाक्पा डिकी कामीको उम्मेद्वारी परेको छ, भने वडा नं ३ मा नेकपा माओवादी केन्द्रबाट फुतानी कमिनी, नेपाली कांग्रेसबाट निरमाया विक र जनता समाजवादी पार्टीबाट निमा कामीको उम्मेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैबिच चुमनुब्री गाउँपालिकामा वडाअध्यक्षसहित ८ जनाको एकल उम्मेद्वारी परेपछि निर्विरोध निर्वाचित भएका छन्।
वडा नं ६ मा नेकपा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेद्वार सरोज लामा, सदस्य ठिमे ग्याम्जो लामा, सोनाम लामा, डोल्मा लामाको एकल उम्मेद्वारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
गाउँपालिकाको– १ मा कांग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको एकमात्र उम्मेद्वारी परेको छ।
वडा नं ५ बिहीका सोनाम सांगोेको पनि महिला सदस्यमा एकमात्र उम्मेद्वारी परेको हो। वडा नं २ मा माओवादीको तर्फबाट ल्हाक्पा डिकी कामी सदस्यमा निर्विरोध हुनुभएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो।