राज दयाल
ओखलढुंगा । जिल्लाको दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका ७ जनाविरुद्ध उजुरी परेको छ । जिल्लाको लिखु गाउँपालिका अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएका मिलनकुमार विष्टसहित पाँच जनाको उजुरी परेको हो ।
विष्ट विरुद्ध लिखुकै अध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिनुभएका अशोक कुमार कार्कीले विरोध उजुरी दिनुएको छ । उम्मेदवार विष्टले दोहोरो नागरिकता लिएको र कर्जा सूचना केन्द्रको कालो सूचिमा नाम समावेश भएको पाइएको छ ।
कार्कीले दिएको उजुरीमा विष्टले मिलनकुमार विष्टको नाममा काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट र होमबहादुर विष्टको नाममा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट नागरिकता लिएको देखिन्छ ।
त्यस्तै, लिखुकै वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका दुई जना र वडा सदस्य पदका लागि उम्मेदवारी दिएका अर्का दुई जना विरुद्ध पनि उजुरी परेको छ । तर उहाँहरुले कुन दलबाट वा स्वतन्त्रबाट उम्मेदवारी दिईएको र उजुरी कसले र किन दिएकाे भन्ने प्रष्ट खुलिसकेको छैन ।
उहाँहरुविरुद्ध उपभोक्ता समितिमा संलग्न रहेको, पेस्की फर्छौट नभएको, ठेक्कामा संलग्न रहेको जस्ता उजुरी परेको लिखु गाउँपालिका निर्वाचन अधिकृत राजेशकुमार थापाले जानकारी दिनुभयो । यस्तै, चम्पादेवी गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष र वडा अध्यक्षमा मनोनयन दर्ता गराएका २ जनाविरुद्ध उजुरी परेको छ ।
तर उजुरी गर्ने मान्छे असम्बन्धित रहेकाले छानबिनको दायरामा नपर्ने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेम न्यौपानेले जानकारी दिनुभयो । लिखु र सुनकोशीमा उजुरी परेका उम्मेदवारहरुको भने छानबिन भइरहेको उहाँले जानकारी दिनुभयो ।
यदि उजुरी सावित भए उहाँहरुको उम्मेदवारी खारेज हुने उहाँको भनाइ छ । जिल्लाका अन्य पालिकामा भने उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको पाईएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ ।