काठमाडौं। कवि एवं पत्रकार राजेन्द्र प्रसाद पन्त ‘तारकिणी’को सहयोगार्थ विश्वव्यापी अभियान शुरु गरिएको छ । दुवै कान सुन्न नसक्ने समस्याले ग्रस्त उहाँको श्रवणशक्ति पुनः प्राप्तिका लागि सगरमाथा साहित्य प्रतिष्ठान, केन्द्रीय कमिटी यएईले “आर्थिक सहयोग संकलन अभियान” शुरु गरेको हो ।
हाँडे रोगका कारण दुवै कानको श्रवणशक्ति गुमाएका तारकिणी साहित्य लेखन तथा पत्रकारितामा विगत एक दशकदेखि सक्रिय छन् ।
प्रतिष्ठानले उहाँको उपचारका लागि हरेक क्षेत्र र तह–तप्काबाट व्यक्तिगत एवं संस्थागत रूपमा आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वान समेत गरेको छ ।
स्वेच्छिक रुपमा सीधै सहयोग गर्न चाहनुहुने शुभचिन्तकहरुका लागि साहित्यकार राजेन्द्र तारकिणीको तल उल्लेखित बैंक खातामा सोझै रकम जम्मा गर्न सकिने सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी गराउनुभयो । यसका साथै प्रतिष्ठानका विभिन्न देशमा रहेका शाखा सञ्जाल र केन्द्रीय कमिटीमा सम्पर्क गरेर समेत सहयाेग गर्न सकिनेछ ।
कसरी गुम्यो त श्रवण शक्ति ?
राजेन्द्र तारकिणी सुदूरपश्चिमको जिल्ला बैतडीमा जन्मिएका हुन् । कवि तारकिणीको हाँडे रोगका कारण १५ वर्षकै उमेरमा श्रवण शक्ति गुमेको थियो। हाँडे रोगको संक्रमण बढेपछि अचानक श्रवणशक्ति गुमेको कवि तारकिणीले जानकारी गरा । यही वैशाख ३ गते सगरमाथा साहित्य प्रतिष्ठानको स्रष्टा र सृजना कार्यक्रमको १०३ औँ श्रृंखलामा कवि तारकिणीसँग संवाद गरिएको थियो, जसबाट उनको समस्या बाहिरिएपछि प्रतिष्ठानले सहयोग अभियान चलाएको हो।
श्रवण क्षमता गुमेपछि उहाँको परिवारले तत्काल उपचार गर्न नसकेकोले समस्या बढ्दै गएको बताइएको छ। यसको आधुनिक प्रविधिबाट उपचार महंगो पर्ने भएकाले सहयोग अभियान सुरु गरिएको प्रतिष्ठानले जनाएको छ।
कहाँ र कसरी हुँदैछ उपचार ?
तारकिणीको उपचार काठमाडौँ महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा हुँदैछ । त्रि.वि. शिक्षण अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा. डा. रविन्द्रभक्त प्रधानाङ्गको टोलीले उनको अपरेसनमार्फत उपचार गर्ने तयारी गरिरहेको छ । डा. प्रधानाङ्गका अनुसार कवि राजेन्द्रको दायाँ कानमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ गरेको खण्डमा उनको श्रवणशक्ति पुनः प्राप्त हुनेछ भने बोलीमा समेत सुधार हुनेछ ।
‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि अस्पतालले कम्तीमा १८ लाख खर्च हुने बताएको छ । जसमध्ये अपरेसन सफल भएपश्चात् नेपाल सरकारले नियमअनुसार दिने सहयाेगबाहेक १२ लाख अपुग हुने हुँदा बाँकी रकम जोहो गर्नुपर्ने बताइएको छ ।
तर सामान्य आर्थिक अवस्थाका तारकिणीको परिवारले तत्काल १२ लाख रुपैयाँ जुटाउन नसक्ने भएको कारण आर्थिक सहयोगका लागि सगरमाथा साहित्य प्रतिष्ठानले अभियान सुरु गरेको जनाएको छ । सहयाेगीहरूकाे नाम र संकलित रकम प्रतिष्ठानकाे फेसबुक पेजबाट समेत नियमित सार्वजनिक गरिने जनाइएको छ ।
साहित्यकार एवं पत्रकार तारकिणी हाल काठमाडौँमा रहेर साहित्य लेखन र पत्रकारितामा सक्रिय छन् । उनी पछिल्लो समय न्यूज २४ नेपालमा कार्यरत छन् । सम्पादन हाउसमार्फत केही साहित्यिक कृतिहरू सम्पादनमा समेत उनी सक्रिय छन् भने विभिन्न साहित्यिक संस्थाहरुमा समेत आवद्ध छन् । उनको नयाँ कवितासङ्ग्रह प्रकाशनमा आउन लागेको शिखा बुक्सका पुष्पराज पौडेलले जानकारी दिनुभएको छ ।
सहयोग रकम पठाउन लागि बैंक खाता :
नाम : Rajendra Prasad Pant
बैंक : Global IME Bank Ltd / Kantipath Branch
खाता नम्बर : 0107010024497 —–
बैंक : NIC Asia Bank Ltd / Sukedhara Branch
खाता नम्बर : 2887931058524001
E-Sewa/Khalti wallet : +977-9861606136 (Rajendra Prasad Pant)
Email – [email protected]
Viber – +977- 9849560709
फेसबुक : rajendra.tarakini
थप जानकारीका लागि : +977-9849560709 (तारकिणीका दाइ)