काठमाडौं । स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र पुगेको छ। नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र लगिएको हो। नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरेको छ।
तनहुँमा ५३८ पेटी मतपत्र पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो। जिल्लाका लागि दुई लाख ६९ हजार थान मतपत्र पुगेको छ।
ढुवानी गरिएका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ। ढकालले भन्नुभयो, ‘निर्वाचनलाई आवश्यक ६१ प्रकारका सामग्री पुगेको छ।’
निर्वाचन कार्यालयका अनुसार रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, लाहाछाप, मार्कर पेन, स्यानिटाइजर, कैची, कर्मचारी परिचयपत्र, स्वयंसेवक परिचयपत्रलगायत सामग्री पुगेको छ।
निर्वाचनका लागि कर्मचारी खटनपटनको कामका लागि निर्वाचन आयोगले कर्मचारी, शिक्षक संघ संगठनहरुसँग छलफल गरेको छ। निर्वाचनमा खटिने कर्मचारीको विवरण संकलन भइसकेको ढकालले जानकारी दिनुभयो।
जिल्लाका दशवटै स्थानीय तहमा उम्मेद्वारी दर्तापछि राजनीतिक दलहरुले घरदैलो अभियान सुरु गरिसकेका छन्। निर्वाचनका लागि दुई हजार ३७६ जनशक्ति परिचालन गरिँदैछ।
निर्वाचनका लागि १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण भएका छन्। निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन गरिने बताइएको छ। यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछन्।
तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनभन्दा यसपटक ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन्। वि सं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता थिए।
निर्वाचनमा आँबुखैरेनीमा ६ हजार ६४२ पुरुष र ६ हजार ९८९ गरी १३ हजार ६ सय ३१, ऋषिङ गाउँपालिकामा आठ हजार ९५१ पुरुष र नौ हजार दुई सय ८७ महिला गरी १८ हजार दुई सय ३८,
घिरिङ गाउँपालिकामा सात हजार एक सय १७ पुरुष र सात हजार पाँच सय ५९ महिला गरी १४ हजार ६ सय ७६, देवघाट गाउँपालिकामा ६ हजार तीन सय ७५ पुरुष र ६ हजार चार सय ४० महिला गरी १२ हजार आठ सय १५ मतदाता कायम भएका छन् ।
यस्तै बन्दीपुर गाउँपालिकामा सात हजार पाँच सय ६४ पुरुष र आठ हजार ७४ महिला गरी १५ हजार ६ सय ३८, भानु नगरपालिकामा १९ हजार पाँच सय ४४ पुरुष र २० हजार नौ सय ५२ महिला गरी ४० हजार चार सय ९६, भिमाद नगरपालिकामा ११ हजार आठ सय ९९ पुरुष र १२ हजार नौ सय ८५ महिला गरी
२४ हजार आठ सय ८४, म्याग्दे गाउँपालिकामा आठ हजार पाँच सय ७९ पुरुष र नौ हजार पाँच सय २६ महिला गरी १८ हजार एक सय पाँच, व्यास नगरपािलकामा २२ हजार चार सय १३ पुरुष र २५ हजार एक सय २९ महिला गरी ४७ हजार पाँच सय ४२, शुक्लागण्डकी नगरपालिकामा १८ हजार ५० पुष र २० हजार दुई सय ६५ महिला गरी ३८ हजार ३१५ मतदाता रहेका छन्।