काठमाडौं । बैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेद्वारी दिएकामध्ये चार हजारभन्दा धेरैले उम्मेद्वारी फिर्ता लिएका छन्।
११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेद्वारलाई शुक्रबार बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो। आयोगकाअनुसार देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेद्वार रहेका छन्।
त्यस्तै संकलनको काम भइरहेकाले फिर्ता लिनेको संख्या थपघट हुन सक्ने जनाइएको छ । सत्ता गठबन्धनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन दबाब दिए पनि पोखरा, भरतपुर लगायतका ठाउँमा उम्मेदवारी कायमै रहेको छ।
पोखरामा कांग्रेसका नेता विमल कार्कीले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छैनन् । गठबन्धनको तर्फबाट पोखरा एकीकृत समाजवादीको भागमा परेको र चितवन माओवादी केन्द्रको भागमा परेको थियो।
यस्तै जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार मनोज साहले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्।
पालिका चुनावमा एमालेका उम्मेदवार सबैभन्दा बढी रहेका छन् । आयोगकाअनुसार एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ।
एमालेले पुरुष १९ हजार ४९९ र महिला १४ हजार ४ जना गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको हो। यसमध्ये मेयरमा २६४ जना पुरुष र २७ जना महिला गरी २९१ जना तथा अध्यक्षमा ४१९ पुरुष र २८ जना महिला गरी ४४७ उम्मेदवार रहेका छन्।
एमालेले उपप्रमुखमा २६ पुरुष र २६० महिला गरी २८६ जना तथा उपाध्यक्षमा ३५ पुरुष र ४१० महिला गरी ४४५ जनालाई उम्मेदवार बनाएको छ। यस्तै नेपाली कांग्रेसले सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ। कांग्रेसबाट पुरुष १८ हजार ५४३ र महिला १२ हजार ८८२ जना गरी ३१ हजार ४२५ जना उम्मेदवार छन्।
यसमध्ये मेयरमा २५० जना पुरुष र १५ जना महिला गरी २६५ जना तथा अध्यक्षमा ३६२ पुरुष र १९ जना महिला गरी ३८१ जना उम्मेदवार छन्। कांग्रेसले उपप्रमुखमा ३० जना पुरुष र १८२ महिला गरी २१२ जना तथा उपाध्यक्षमा ६७ जना पुरुष र २९३ जना महिला गरी ३६० जनालाई उम्मेदवार बनाएको छ।
माओवादी केन्द्रले पुरुष १३ हजार ३०२ र महिला ८ हजार ९७७ जना गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको छ। यसमध्ये माओवादीले मेयरमा १५६ जना पुरुष र १८ जना महिला गरी १७४ तथा अध्यक्षमा २६१ पुरुष र २९ जना महिला गरी २९० जना उम्मेदवार बनाएको छ।
माओवादीबाट मेयरमा ८५ जना पुरुष र १३३ जना महिला गरी २१८ जना तथा उपाध्यक्षमा ११५ जना पुरुष र २०० महिला गरी ३१५ जना उम्मेदवार छन्। पालिका चुनावको लागि देशभरबाट १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।