काठमाडौं । मलेसिया भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभननबीच द्विपक्षीय छलफल भएको छ ।
भेटमा नेपाल र मलेसियाबीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारी पत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने,
रोजगारीको लागि युवाहरूको छनौट तथा नियुक्तिलाई शून्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सबलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्ने विषयमा छलफल भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाली श्रमिकहरूलाई आफ्ना अधिकार र आफूले पालना गर्नुपर्ने सर्तहरूको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरूको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा छलफल भएको दूतावासले जनाएको छ।
मन्त्री श्रेष्ठले मलेसियाको निजी सुरक्षा गार्डको रुपमा कार्यरत युवाहरूको आधारभूत तलब बढाउन, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्र लगायतका सुविधाहरूको प्रवर्द्धन गराउन समकक्षीसमक्ष माग गर्नुभयो ।
नेपाल र मलेसियाबीच कायम रहेको श्रम सम्बन्धी संयुक्त कार्यदलको तेस्रो बैठक छिटै काठमाडौँमा गर्ने र बैठकमा छलफल भएका विषयहरूलाई औपचारिकता दिने सहमति भएको दूतावासले जनाएको छ ।