राज दयाल
ओखलढुंगा । जिल्लाका विभिन्न पालिकामा यसअघि निर्वाचित महिला वडा सदस्यलाई नै पुन: दोहोर्याईएको छ । आउँदो स्थानीय तहको निर्वाचनका लागि नेतृत्वमा अब्बल बन्दै गएपछि पार्टीले पुन दोहोर्याएर उनीहरुलाई नै उम्मेदवारी उठाएको हो ।
दलित महिला केन्द्रको ‘सी लिड्स’ परियोजनाले संकलन गरेको तथ्यांक अनुशार जिल्लाका ४ पालिकाबाट मात्रै २२ जना महिला र दलित महिलालाई पुन: चुनाव लड्नका लागि उम्मेदवारी उठाइएको छ । परियोजना लागू भएका जिल्लाको सिद्धचरण नगरपालिका, सुनकोशी गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका र मोलुङ गाउँपालिकामा विभिन्न दलबाट यसअघि निर्वाचित भएका महिला र दलित महिला वडा सदस्यले फेरि उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दोहोरिएका मध्ये सबैभन्दा बढी नेपाली कांग्रेसबाट १४ जना छन् । त्यस्तै नेकपा एमालेबाट ५ र माओवादी केन्द्रबाट ३ जना दोहोरिएको स्रोतले जनाएको छ । त्यसमा पनि सुनकोशी बाट ८ जना, सिद्धिचरण नगरपालिकाबाट ७ जना, मानेभञ्ज्याङ गाउँपालिकाबाट ६ जना र मोलुङ गाउँपालिकाबाट १ जना दोहोरिएका छन् ।
अन्य पालिकाबाट पनि यस अघि निर्वाचित थुप्रै महिला र दलित महिला वडा सदस्यलाई पुन उम्मेदवारी उठाईएको छ तर एकिन तथ्यांक आईसकेको छैन । यस अघि २०७४ को स्थानीय चुनावमा कतिपय महिला सदस्य र दलित महिला वडा सदस्यलाई कोटा पुर्याउनकै लागि चुनावमा समावेश गराइएको थियो ।
तर आउँदो चुनावमा भने ५ वर्षकाे कार्यकालमा उनीहरुले वडाको विकासका लागि खेलेको भूमिका, उनीहरुको ईमान्दारिता, लोकप्रियता र नेतृत्वमा आएको अब्बलतालाई ध्यानमा राख्दै विभिन्न दलले फेरि चुनावमा समावेश गराएका छन् ।
फेरि पनि दोहोर्याएर आफूहरुलाई नै किन उम्मेदवार बनाईयो त ? अनि निर्वाचित भएमा के छ योजना ? यसो भन्छन् केही महिला वडा सदस्य र दलित महिला वडा सदस्यका उम्मेदवारहरु :
मञ्जिता बिक, महिला वडा सदस्य उम्मेदवार, सुनकोशी गाउँपालिका–४
विगतको कार्यकाल विशेष गरी सिकाईमै बित्यो । त्यसकारण भनेजस्तो र सोँचेजस्तो विकास पनि भएका छैनन् । ५ वर्षको कार्यकालमा मैले जिम्मेवारी सफलताका साथ सम्पन्न गरे । काम गर्दै जाँदा नेतृत्वमा समेत विकास हुँदै गयो र अझ माथिल्लो पदमा रहेर पनि काम गर्न सक्छु भन्ने हिम्मत आयो ।
बाँकी रहेका अँधुरा र अपुरा कामहरुलाई पुरा गर्न मेरो भूमिका अब्बल रहन्छ र विगतको सिकाईले पनि आउने कार्यकाल सहज हुन्छ नै भनेर पार्टीले विश्वास गरेर पुन: मलाई उम्मेदवारी उठाएको हो । मलाई पुन: उम्मेदवारी दिलाउन ‘सी लिड्स’ परियोजनाको पनि ठुलो भूमिका छ जसले हाम्रो नेतृत्व विकासका लागि पटक पटक विभिन्न तालिमहरु दिएको छ ।
निर्वाचित भएमा के छ अबको योजना ?
विगतको कार्यकालमा बढी भौतिक पूर्वाधारलाई महत्व दिईएको छ । पुन: निर्वाचित भएमा विशेष गरी वडामा कृषि क्षेत्रलाई समेट्ने योजना बनाएको छु ।
तरकारी खेतीमा कृषकहरुलाई आत्मनिर्भर बनाउन आवश्यक योजना बनाई बजारीकरणको लागि पनि पहल गर्नेछु । र वडामा अझै खानेपानी र विद्युतको समस्या छ त्यसको समाधानका लागि पनि मेरो विशेष पहल रहने छ ।
सडक सञ्जाल नजोडिएका ठाउँमा पुन सडक सञ्जाल जोडेर स्थानिय स्तरमा उत्पादन भएका कृषि उपजलाई व्यवस्थित बजारीकरणको योजनाहरु पनि बनाउने सोच छ ।
कमला राई, वडा सदस्य उम्मेदवार, मानेभञ्ज्याङ गाउँपालिका–९
५ वर्षसम्म निर्वाचित जनप्रतिनिधि भएर काम गरेको अनुभव तपाईँसँग छ । तपाईँले पिछडिएको वर्ग, समुदायमा पनि सजिलै घुलमिल भएर काम गर्न सक्नहुन्छ ।
त्यसैले, तपाइँले अबको १ कार्यकाल दोहोर्याउन जरुरी छ भनेर पार्टीले मलाई फेरि उम्मेदवार उठाएको हो । मैले पनि ‘सी लिड्स’ ले विभिन्न चरणमा दिएको क्षमता अभिवृद्धि तालिम लिएको छु । तालिमले मेरो नेतृत्व क्षमतामा समेत थप वृद्धि भयो, हाम्रो हक अधिकारको बारेमा थप ज्ञान पाइयो । त्यसकारण पनि अबको कार्यकाल निकै सफल रहन्छ भन्ने मेरो बिश्वास पनि छ ।
निर्वाचित भएमा के छ अबको योजना ?
विगतको कार्यकाल लगभग अलमलमै बित्यो । बेला बेला परिर्वतण भैरहने र गरिनुपर्ने नीति नियमले पनि काम गर्न निकै असहज भएको थियो ।
हामीसँग त्यति अनुभव थिएन, हाम्रो योगदान, अधिकार के भन्नेमै हामी प्रष्ट थिएनौँ र नेतृत्व विकास समेत भएको थिएन । अब यो सबै कुरामा हामी प्रष्ट छौँ । काम गर्दै जाँदा र विभिन्न क्षमता अभिवृद्धिका तालिमहरुमा सहभागि हुन पाउँदा हाम्रो नेतृत्व क्षमतामा वृद्धि भएको छ ।
‘सी लिड्स’ परियोजनाले दिएको विभिन्न चरणको तालिमले पनि हामीमा नेतृत्व विकास भएको छ । हामी हाम्रो कुरा निर्धक्क राख्न सक्ने भएका छौँ ।
त्यसकारण अबको कार्यकालमा विशेष गरी महिलाहरुलाई सक्षम बनाउन जनचेतनामूलक कार्यक्रम ल्याउने, आर्थिक अभावमा पुरुषमै निर्भर रहनु पर्ने बाध्यताको अन्त्य गर्न विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्ने ।
उनीहरुलाई राजनितिक क्षेत्रमा पनि सहभागी गराउन आवश्यक विभिन्न क्षमता विकासका कार्यक्रमहरु ल्याउने र आफ्नो हक अधिकार बारे प्रष्ट पारेर अधिकार प्राप्तीका लागि लड्न सक्ने बनाउने खालका कार्यक्रमहरु ल्याउने योजना बनाएको छु ।
टिकामायाँ बिक, वडा सदस्य उम्मेदवार, मोलुङ गाउँपालिका–३
पहिलो पटक निर्वाचित भएर जनप्रतिनिधि हुँदा मलाई कतै सार्वजनिक कार्यक्रममा परिचय दिन पनि डर लाग्थ्यो । खासमा भन्नुपर्दा परिचय दिन पनि आउँदैन थियो तर म अहिले वडाको नेतृत्व सम्हाल्न सक्षम छु । मेरो यसअघिको कामको अनुभव, ईमान्दारिता र नेतृत्वमा भएको क्षमता विकास देखेर नै पार्टीले फेरि उम्मेदवारी बनाएको हो जस्तो लाग्छ ।
निर्वाचित भएमा के छ अबको योजना ?
बितेका ५ वर्षको कार्यकालमा मैले धेरै कुरा बुझ्ने र सिक्ने अवसर पाएँ यो नै मेरा लागि सबैभन्दा ठुलो उपलब्धि थियो । अब फेरि पनि तपाईँ नै वडामा आउनुपर्छ, तपाईँलाई हामी साथ दिन्छौँ, सहयोग गर्छौँ भन्ने स्थानीयहरु पनि छन् ।
विगतमा मैले जानी नजानी धेरै प्रस्तावहरु तयार गरेको थिएँ । ति योजनाहरु खासै सफल भएका छैनन्र । आउने कार्यकालमा पनि फेरी म निर्वाचित भए भने ति अधुरा योजनाहरु पुरा गर्न सक्दो पहल गर्नेछु ।
वडामा रहेका एकल महिला तथा जेष्ठ नागरिकहरु, सबै वर्ग र क्षेत्र समेटिने खालका योजनाहरु बनाउँछु भन्ने सोँच छ ।
रत्नमायाँ बिक, वडा सदस्य उम्मेदवार, सिद्धिचरण नगरपालिका–६
अघिल्लो कार्यकालमा तपाईँ जुनसुकै क्षेत्र, वर्ग समाजमा घुलमिल गर्न सक्ने हुनुभयो । अब फेरि त्यही अनुभव र सिकाईलाई थप सक्रिय भएर विकासको काममा समेत तपाईँको योगदान हुनुपर्छ भनेर पार्टीले मलाई फेरि टिकट दिएको हो ।
यसअघि तपाईँहरु जस्तो संञ्चारकर्मीसँग म यसरी बोल्न पनि सक्दिन थिएँ । अहिले म विभिन्न सार्वजनिक कार्यक्रममा पनि आफ्नो भनाइ सजिलै राख्न सक्छु । ममा आएको यो परिवर्तणले नै वडामा मैले फेरि नेतृत्व सम्हाल्न सक्छु भनेर पनि पार्टीको मप्रति विश्वास बढेको हो जस्तो लाग्छ ।
निर्वाचित भएमा के छ अबको योजना ?
यस अघिको कार्यकालमा पनि मैले वडाका कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको थिएँ । कति योजना सफल पनि भएँ । तर भनेजस्तो सफलता मिलेन । फेरि निर्वाचित भएँ भने म पहिले त ति अघिल्लो कार्यकालमा असफल भएका योजनाहरुलाई सम्पन्न गर्न लागि पर्छु ।
अनि हाम्रो वडाबाट वैदेशिक रोजगारीका लागि विदेशिने युवायुवतीहरु पनि थुप्रै छन् । उनीहरुलाई यही रोजगारी दिने योजना त ल्याउन नसकिएला तर विभिन्न सिपमुलक तालिम सञ्चालन गर्नुको साथै कृषिमा आत्मनिर्भर बनाएर उनीहरुलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने बनाउन मेरो पहल भने अवश्य हुनेछ ।
जिल्लामा यसअघि निर्वाचित भएर फेरि चुनाव लड्नका लागि टिकट पाएका सबै जसो महिला वडा सदस्यहरुले ५ वर्षको कार्यकालमा विशेष गरी आफ्नो नेतृत्व क्षमतामा विकास भएकै कारणले पनि पार्टीले पुन: उम्मेदवारी बनाएको दाबी गर्छन् ।
सार्वजनिक कार्यक्रममा उठेर परिचय समेत दिन नसक्ने आफूहरुलाई दलित महिला केन्द्रको ‘सी लिड्स’ परियोजनाले पटक पटक विभिन्न तालिमहरु दिएर सक्षम बनाएको उनीहरुको भनाइ छ । जिल्लाका ४ पालिकामा मात्रै नभएर ‘सी लिड्स’ परियोजना जिल्लाका सबै स्थानीय तहमा लागू भए आफूहरु जस्तै अन्य महिला जनप्रतिनिधिहरुको पनि नेतृत्व विकासमा सहयोग पुग्ने उनीहरु बताउँछन् ।