काठमाडाैं । सत्तारुढ गठबन्धनको काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सृजना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
शनिवार नेपाली काँग्रेस निकट बुद्धिजीवी पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले आफू मेयरमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताउनुभएको हो ।
उहाँले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने बताउनुभयो । सिंहले सबै महिलाहरुको भावनालाई कदर गरेर अघि बढ्ने योजना पनि सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो । घर भित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन। त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनु पर्नेछ। आईटीको जमाना छ । डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु । महिलाहरुको समस्या बुझेकाले तत्काल समाधान गर्न पहल गर्नेछु ।’
सिंहले आफूलाई नेपाली काँग्रसले सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाएको बताउनुभयो । शुरुमा मेयरका लागि नेपाल महिला संघ, काठमाडौंले प्रस्ताव गर्दा आफ्नो श्रीमान प्रकाशमान सिंहलाई थाहा नै नभएको उहाँको दाबी थियो।
गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवारी नभएको सिंहले बताउनु भयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनु भएका गणेशमान, मंगलादेवी र प्रकाशमान सिंहको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताउनुभयो ।