सोलुखुम्बु । गएको पाँच वर्षमा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगरपलिकाको विकासमा व्यापक विभेद गरेको आरोप लागेको छ ।
आज (शनिवार) सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ८ मा आयोजना गरेको बृहत आमसभा कार्यक्रममा सोलदुधकुण्ड नरगपालिकाका लागि नेकपा एमालेबाट मेयरका उम्मेद्वार आङकाजी शेर्पाले केरुङ लगायत त्यस भेगको विकासमा नाम्गेल जाङबु शेर्पाले चरम विभेद गरेको आरोप लगाउनुभएकाे हाे ।
नेकपा एमालेप्रति जनता उर्लिएको देख्न नसकेर शेर्पाले केरुङ, गोराखानी र टाप्टीङलाई विकासका योजना प्राथमिकतामा नराखेको आरोप लगाएकाे हाे । शेर्पाले नगरपालिकाको प्रमुख भएर ५ वर्ष विताउँदा अधिकांश समय निर्माण व्यवसायी, जलविद्युत आयोजनाहरुसंग करोडौँ असुलीको धन्दा मात्रै चलाएको दाबी गर्नुभयाे ।
उनै व्यक्ति पुन: नगरपालिकाको मेयरका लागि अघि बढेकाले विकासका लागि नेकपा एमालेका उम्मेदवारलाई मत प्रदान गर्न पनि नगरबासीहरुलाई उहाँले आग्रह गर्नुभएकाे छ। आफू निर्वाचित भए केरुङ लगायत यस भेगका खाली जग्गाहरुलाई बृहत उपयोग गरि कृषि उत्पादन, पशुपंक्षीको व्यावसायिक योजनाहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । विकासको आधा काम मात्रै भई टुहुरो बनेको बुद्ध पार्कको निर्माण सम्पन्न गर्न, पत्ताले, धाप लगायतका क्षेत्रमा वार्षिक ५ लाख सम्म पर्यटक भित्र्याउने आफ्नो लक्ष्य रहेको मेयरका उम्मेद्वार आङकाजी शेर्पाले बताउनुभयाे ।
यस्तै उपमेयरका उम्मेद्वार मोहनकुमारी कार्कीले खानेपानी, शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारका एजेण्डाहरु एमालेको पहिलो प्राथमिकता भएकाले वडा तहदेखि नगरपालिकासम्म एमालेका उम्मेदवारहरुलाई विजयी गराउन उहाँले मतदाताहरुसँग आग्रह गर्नुभयाे । अबको ५ वर्षमा हरेक गाउँ र टोलहरुमा पुगेको सडकलाई स्तरोन्नती गर्दै कालोपत्रे गर्ने उहाँकाे भनाइ छ ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य श्याम क्षेत्रीले नगरको समावेशी विकासका लागि एमालेको जीत आवश्यक रहेको बताउनुभयाे । वडा नम्बर ८ मा देखिएको एमालेमय उत्साहले सोलुदुधकुण्ड नगरपालिकामा एमालेको जीतलाई सुनिश्चित गरेको उहाँको दाबी छ ।
यस्तै, नेकपा एमाले साुलुखुम्बुका सहसचिव दीपक राजभण्डारीले केरुङ क्षेत्र ढाका बुनाई, हस्तकला र व्यावसायिक उत्पादनमा अन्य गाउँभन्दा एक कदम अघि रहेकाले एमालेले जीत हासिल गरे यस्ता उद्यमीहरुलाई प्रोत्साहित गरी योजनाहरु तर्जुमा गर्ने बताउनुभयाे । नगरपालिकाको कार्यवाहक मेयर तथा एमाले नेतृ कल्पना राईले मेयर नाम्गेल जाङबु शेर्पाको हेपाह प्रवृत्तिका बीच आफूले यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि थुप्रै योजनाहरु लागू गरिएको बताउनुभयाे । ५ वर्षमा यस गाउँको अपेक्षाकृत विकास हुन नसकेको स्वीकार गर्दै राईले एमालेको विजय पश्चात अबको ५ वर्ष केरुङ, टाप्टिङ र गोराखानीको विकासको वर्ष हुने बताउनुभयाे ।
केरुङमा आयोजित चुनावी आमसभामा नेपाली काँग्रेस परित्याग गरी एक दर्जन नेता कार्यकर्ताहरु एमाले पार्टीमा प्रवेश गरेका छन् । सो कार्यक्रममा केरुङका झण्डै ६ सय मानिसहरु सहभागि भएका थिए । नेकप एमालेले भाेलि आइतवार टाप्टिङमा चुनावी आमसभाको कार्यक्रम आयोजना गरेको छ ।