काठमाडाैं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदको उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाहरुका लागि विशेष राहत योजना ल्याउने बताउनुभएको छ ।
आइतवार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभयो ।
उहाँले महिलाहरुले बिहानदेखि बुलुकीसम्म घरमै काम गरेर बस्ने भएपनि राज्यले श्रमको मुल्यांकन नगरेको बताउनुभयो । उहाँले आफु काठमाडौं महानगरपालिकाको मेयर भएको खण्डमा गरिबीको रेखा मुनि रहेको श्रमिक महिलाहरुको निम्ति विशेष राहत योजना ल्याउने बताउनुभयो ।
त्यसैगरी बेरोजगार युवाहरुका लागि डिजिटल प्रविधिको प्रयोगगरी सिपमुलक तालिम दिने र उद्यमी बनाउने पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘श्रमिक महिला दिदीबहिनीहरुको, श्रमिकहरुको यहाँ जति सुनुवाई हुनुपर्ने हो राज्यले गर्नुपर्ने हो त्यो हुन सकेको छैन । त्यसमा मेरो ध्यान सधैँ गइरहेको छ र मैले बोल्दै आइरहेको पनि छु । काठमाडौंमा कति दिदीबहिनीहरु बेरोजगार हुनुहुन्छ, दाजुभाइहरु बेरोजगार हुनुहुन्छ । उहाँहरुको राज्यले सुनुवाई भएको छैन । जो महिला दिदीबहिनीहरु गरिबीको रेखा मुनि हुनुहुन्छ, उहाँहरुको लागि मैले विशेष राहत योजना मैले ल्याउने छु भनेर म भन्न चाहान्छु ।’
उहाँले श्रमिक महिलाहरुका बालबच्चाका लागि महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र बनाउने पनि बताउनुभयो ।
त्यसैगरी महानगरले युवा क्लवहरुसँग सहकार्य गरी युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने पनि उहाँले बताउनुभयो। सिंहले प्रत्येक सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्ने पनि उल्लेख गर्नुभयो । उहाँले प्रत्येक वडाको गल्ली–गल्लीमा बिजुली बत्ति बालेर र सिसी क्यामेरा जडान गरेर महिलाहरुका लागि सुरक्षित अनुभुति गराउने बताउनुभयो ।