राज दयाल
ओखलढुंगा । मुख्य खाद्य बालीका रुपमा रहेको मकै र आलुमा किराको प्रकोप देखिएपछि ओखलढुंगाका किसान चिन्तित भएका छन् । जिल्लाका प्राय: सबै क्षेत्रमा लगाईएको मकै र आलु बालीमा यतिबेला रात्रिचर पुतलीको लार्भा (हेलिकोभर्पा आर्मीजेरा समूह) किराको प्रकोप देखिएको छ । किराले मकै र आलुको गुभो खाएर सखाप पारेको किसानहरु बताउँछन् ।
विशेष गरी जिल्लाको सुनकोशी, चम्पादेवी गाउँपालिका र सिद्धिचरण नगरपालिकामा पनि यो किराको प्रकोप देखिएको सम्बन्धित पालिकाका कृषी विकास शाखाले जनाएका छन् । सिद्धिचरण नगरपालिका ७ जन्तरखानीका कृषक श्याम मगरले मकैको गुभामा पसेर हुर्कन लागेको बोटहरु किराले नष्ट गर्ने गरेको बताउनुभयो।
मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गर्न थालेपछि किसानहरु हैरान भएका छन् । गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएको थियो । तर यस पटक भने रात्रिचर पुतलीको किराले मकै र आलु सखाप पार्न थालेको किसानहरुको भनाइ छ ।
आफ्नो वडामा मात्रै झन्डै ३ सय रोपनीको क्षेत्रफलमा किराले मकै र आलुमा क्षति पुर्याएको चम्पादेवी ५ का अर्का कृषक अजय तामाङले बताउनुभयो।
सिद्धिचरण नगरपालिकाको हकमा भने सबै वडामा यो किराको प्रकोप देखिएको कृषि विकास शाखाले जनाएको छ। मकैबालीमा किराको प्रकोप देखिएपछि किसानहरु गुनासो र किराको नमुना समेत लिएर कृषि साखामा आउने गरेको सिद्धिचरण नगरपालिका कृषी विकास शाखाका नायव प्राविधिक सहायक बिरेन्द्र तामाङले बताउनुभयो।
कतिपय क्षेत्रमा यसलाई फौजी किरा पनि भनिएको छ । तर कृषकले ल्याएको किराको नमुना हेर्दा रात्रिचर पुतलीको लार्भा (हेलिकोभर्पा आर्मीजेरा समूह) को किरा नै रहेको उहाँले बताउनुभयो । उहाँका अनुशार गुनासो लिएर आएका किसानहरुलाई विषादी दिएर पठाउने गरिएको छ ।
यो किराको व्यवस्थापनका लागि विषादी नभएको खण्डमा घरमै पनि खिर्रो,सिउँडी र पिर्रे झारलाई कुटेर झोल बनाएर छर्किन सकिने तामाङको भनाइ छ । यता कृषि ज्ञान केन्द्रले भने जिल्लाका सबै पालिकामा हालसम्म छिटपुट रुपमा मात्रै किराको प्रकोप देखिएको भन्ने जानकारी आएको जनाएको छ ।
जिल्लाका केही भागमा फौजी किरा फाटफुट देखिएको भनिए पनि खासै गुनासो भने नआएको कृषि ज्ञान केन्द्रका बागबानी अधिकृत टिका बानियाले बताउनुभयो । सम्बन्धित पालिकाको कृषी शाखामै कृषकहरु जाने गरेकाले पनि केन्द्रमा जानकारी नआएको हुन सक्ने उहाँको भनाइ छ ।
जिल्लामा वर्षेनी खडेरी, रोग किराको प्रकोप, जमिन बाँझै राख्ने र खेतीयोग्य जमिन घडेरीमा परिणत हुने जस्ता कारणले खाद्य संकट निम्तिने सम्भावना बढेको छ । यसतर्फ सम्बन्धित पक्षले ध्यान दिन जरुरी रहेको सरोकारवाला बताउँछन् ।