काठमाडाैं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा दिनमा सो काम सकाएर महानगरबसीको सेवाको काममा लाग्ने बताउनुभयो ।
आइतवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सगुन खाँदा पनि झोल नखाने भन्दै नल्याउन पनि सबैलाई आग्रह गर्नुभयो ।
उहाँले पानी ल्याउने, विष्कुट ल्याउने अनि बाँडेर सगुन खाने र मेयर भएको पर्सीपल्टबाट काम शुरु गर्ने बताउनुभयो ।
मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘विभिन्न ठाउँबाट आएका मानिसहरुलाई काठमाडौंमा संरक्षण गर्न अगुवाई गर्नेछु । मैले एक दिन केही मान्छेहरुलाई देख्या छु–६ महिनासम्म काम भनेको सगुन खाने भन्छ । साँझ परेपछि चुस्स लाछ । फोन अफ गर्या छ । जहिले पनि सगुन खाछ, अण्डा खाछ । माछा खाछ । ठूल्ठूला कुरा गर्या छ । हुँदैन, जितको भोलीपल्ट ६ बजेदेखि राति बाह्र बजेसम्म सेलिब्रेशन हुन्छ । जति आउने त्यही दिन आउनू पर्यो । मेरो आमाजस्तो हुर्काको दिदी हुनुहुन्छ । उहाँ कहाँ ढोग गरेर आउने र सगुन खाने । त्यसमा अण्डा अरुलाई खुवाउने । आफूले धेरै खायो भने खाने बानी लाग्छ । होस त गर्नु पर्यो नि । त्यसरी खानेबानी ठिक हुँदैन । बाँडचुड गरेर एक दिन सगुन खाने । भोलिपल्टबाट आम नागरिकको पीडालाई सुनेर काम गर्ने हो ।’
उहाँले आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गर्नुभयो । काठमाडौं महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रुपमा आफूले विकास गर्न चाहेको मेयरका उम्मेदवार स्थापितको भनाई छ ।
कार्यक्रममा बोल्दै एमालेका उपमेयरका उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरुलाई बिदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने योजना पनि सुनाउनुभयो ।
डंगोलले महिलाहरुलाई पुरुष सरह ज्याला पाउने प्रबन्ध पनि आफू विजयी भएमा व्यवस्था गर्ने संकल्प गर्नुभयो ।