काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नु पर्ने आवश्यकता भएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा शुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको बताउनुभएको हो ।
उहाँले मुलुकको विभिन्न क्षेत्रमा लेखा परिक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नु पर्ने बताउनुभयो । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नु पर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परीक्षकहरुलाई परीक्षण गर्न आग्रह गर्नुभयो ।
उहाँले यस्तो कुराहरुको लेखा परीक्षण नगरी राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताउनुभयो । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परीक्षण गर्न जरुरी रहेको दोहोर्याउनुभयो ।
अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परीक्षण गर्नु पर्ने बेला भएको बताउनुभयो । उहाँले विगतमा लेखा परिक्षण गर्दा प्लस राख्ने ठाउँमा शुन्य राखिएकाले गरिबी अन्त्य नभएको बताउनुभयो । अब मुलुकको गरिबीको लेखा परीक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो ।
उहाँले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परीक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताउनुभयो । मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परीक्षण गर्नु पर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परीक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताउनुभयो ।
अर्थमन्त्री शर्माले विगतमा लेखा परिक्षणमा कहाँ–कहाँ त्रुटी भएको छ ? त्यसको खोजी भईरहेको बताउनुभयो । लेखा परीक्षकहरुले परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउनु भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परिक्षण गर्नु पर्ने बताउनुभयो ।
उहाँले लेखा परिक्षण गर्ने परीक्षक व्यक्तिगत स्वाथ्र्यमा लाग्यो भने देशको अर्थतन्त्र वा समग्र प्रणालीमा नै असर पर्नेतर्फ सचेत गराउनुभयो ।