काठमाडाैं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
उहाँले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताउनुभयो । महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाउनुभयो ।
उहाँले कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताउनुभयो। महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाएको भएपनि ५ वर्षको अवसर खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमा, याचना माग्नुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले अबको ५ वर्ष नेपाली काँग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताउनु भयो । उहाँले समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली काँग्रेसँग रहेको पनि स्पष्ट पर्नुभयो । महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले खेर फाल्न नचाहेको बताउनु भयो । उहाँले विगतका ५ वर्षमा कम्युनिष्टहरुले खेर फालेको समयलाई काँग्रेसले त्यो क्षतिलाई पूरा गर्ने गरेर काम गर्ने दाबी गर्नुभयो ।
महामन्त्री थापाले यसपटकको स्थानीय निर्वाचनमा काँग्रेसबाट जित्ने सदस्यहरुले श्रोत, साधनको अपचलन नगर्ने दाबी गर्नुभयो । उहाँले अबको ५ वर्ष विगतको ५ वर्ष भन्दा फरक रहने पनि बताउनुभयो । महामन्त्री थापाले कुनै पनि ठाउँमा विधि मिचेर मनलाग्दी श्रोत, साधनको दुरुपयोग नगर्न पनि निर्देशन दिनुभयो ।
महामन्त्री थापाले नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टीपंक्तिबीच विस्तृत छलफल हुन आवश्यक रहेको बताउनुभयो ।