क्षितिज बिश्वकर्मा
सर्लाही । चन्द्रनगर गाउँपालिकामा पालिका अध्यक्षमा उम्मेदवारी दिएका मुसहर अभियन्ता राजकुमार महतोलाई एक लाख आर्थिक सहयोग प्राप्त भएको छ।
नेपाली कांग्रेसका तर्फबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका महतोलाई सिरहा निवासी मुसहर समुदायकी किशोरी सलिता सदाले एक कार्यक्रमका बीच उक्त रकम बराबरको लाख चेक हस्तान्तरण गरेकी छिन्।
तराई मधेशको अति विपन्न समुदायको दुःख पीडा बुझेको, शिक्षित, अनुभवी र देशविदेश घुमेको राजकुमार महतो जस्तो व्यक्ति स्थानीय तहको चुनावमा जित्नै पर्ने भएकाले आफूले कमाएर बचत गरेको पैसा मुसहर समुदायको तर्फबाट सहयोग गरेको सप्तरी निवासी सलिता सदाले बताइन् ।
विगत १५ वर्षदेखि पीडामा रहेको समुदाय, ओझेलमा परेको मुद्दा र संस्कृति सम्पदाको संरक्षणका लागि आफ्नो ज्ञान, समय, नेटवर्क र स्रोतसाधन खर्च गरी उनले अरुलाई सहयोग गरेकाे उनले बताइन् ।
आज चुनावी महोलमा उहाँलाई अरुको समय, समर्थन र सहयोगको आवश्यकता रहेकाले त्यसै अनुसार आफूले सके जतिको आफनो स्तरबाट सहयोग गरेकी छु । भविष्यमा सांसद बन्ने ईच्छा बोकी नेपाल कम्युनिस्ट एकीकृत समाजवादी पार्टीमा सक्रिय रुपमा लागेकी सलिता सदा मुसहरले भविष्यमा पीडामा रहेको गरिब, विपन्न समुदाय तथा देश र जनताको हितमा सदैव कार्य गर्दै जाने बताइन् ।
विगत १५ वर्षदेखि समाजिक कार्यमा सक्रिय भएर विभिन्न अभियान सञ्चालन गर्दै आएका राजकुमार महतोले शक्तिहिनको सशक्तिकरण मुसहर समुदायको समग्र उत्थान अभियान सञ्चालन गरी ४०० भन्दा बढीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गरेका गर्नुका साथै जग्गा, नागरिकता, सुरक्षित आवास जस्ता विषयमा निःस्वार्थ रुपले कार्य गर्दै आएका हुन् । समाजमा भएका सबै किसिमका असमनता, विभेद र शोषण लाई परास्त गरी सबै समुदाय, वर्ग, लिंग र जाती अट्ने सभ्य र समृद्ध समाज निर्माणका लागि आफू राजनीतिकमा आएको अभियन्ता राजकुमार महतोले बताए ।
भोक, शोक, शोषण तथा दमनका सिकार भएर सबैभन्दा अन्तिम पिँधमा रहेका मुसहर समुदायको किशोरीबाट प्राप्त भएको सहयोगले आफनो मनोबल उच्च रहेकाे उनकाे भनाइ छ ।
'मैले जुन समुदायको हक, हितका लागि विगत डेढ दशकभन्दा बढी समय काम गरे आज त्यही समुदायकी किशोरीबाट आर्थिक सहयोग प्राप्त भएकाेमा चुनावमा समेत थप उर्जा प्राप्त मिलेको छ।' अगामी दिनमा पनि गरिब, दलित तथा अतिविपन्न परिवारका लागि काम गर्दै जाने उनले बताए ।