हेटौँडा। तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा (परित्याग) गरेर स्वतन्त्र बस्नु भएका मकवानपुरका नेता मधु अधिकारी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ। आइतबार पोखरा पुगेर अधिकारी समाजवादीमा समाहित हुनुभएको हो ।
उहाँलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर स्वागत गर्नुभयो । ‘पार्टीमा उचित र सम्मानित भूमिका दिइनेछ,’ नेपालले भन्नुभयो, ‘राजनीति सहअस्तित्व र सहभागितात्मक हुनुपर्छ, कसैलाई काखापाखा र अन्याय गरिने छैन, यही विभेदविरुद्ध एमालेमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरिएको हो ।'
पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताउनुभयो । उहाँले राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको र संगठनमा दिलोज्यान दिनेहरु अवसरबाट विमुख हुने क्रम अरु बढेकाले विद्रोह गरेको बताउनुभयो ।
को हुन् मधु अधिकारी ?
२०२२ सालमा हेटौँडामै जन्मनु भएका अधिकारी २०४७ सालमा बहुदल स्थापनापछि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला समितिको संस्थापक हुनुहुन्छ।
उहाँले हेटौँडा नगर अध्यक्ष, जिल्ला सचिव, उपसभापति, सभापति, बागमती प्रदेश उपाध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्यको भूमिकामा कार्य गरिसक्नु भएको छ । वडाध्यक्ष हुँदै हेटौँडाको मेयर पनि भइसक्नुभएका अधिकारीले सन १९८० मै सिंगापुरबाट ब्लाक बेल्ट लिनुभएको हो ।
पाँचवटा राष्ट्रिय खेलमा पनि सहभागी अधिकारीले पार्टीको मुखपत्र हलो मासिकको सम्पादक भएर काम गर्नु भएको छ भने मकवानपुरको ५० को दशकमा पत्रकारिता पनि गर्नुभयो । उहाँले कोसेली साप्ताहिक र मकवानपुर सन्देश पत्रिका पनि सम्पादन तथा प्रकाशन गर्नु भएको थियो।
यस्तै, राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारी पनि राप्रपा परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ।