राधिका तामाङ
काठमाडाैं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार र मतदाता उत्साहित भएर चुनावी प्रचार प्रसारमा लागिपरेका छन् । साथै प्रचार प्रसारको नाममा हुने भिडभाडले कोरोना संक्रमणलाई बढावा दिन्छ कि भन्ने त्रास पनि बढेको छ।
स्थानीय तहका उम्मेदवारहरु बैशाख ३० गते हुने निर्वाचनको तयारीमा लागेका छन् । विगतमा अत्यधिक कोरोना संक्रमनबाट ग्रसित भएर गुज्रिएको नागरिक सामान्य अवस्थामा आएको धेरै समय भएको छैन ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो दुई साताकाे तथ्यांक अनुसार दैनिक २० जनाको हाराहारीमा कोरोना संक्रमित भेटिने गरेका छन् । पछिल्लो समय छिमेकी मुलुकमा कोभिड संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । यही सन्दर्भमा निर्वाचनको क्रममा हुने गरेको भीडभाडले कोभिडको खतरा बढाउने हो कि भन्ने आशंका बढाएको छ ।
यदि चुनावलाई मध्यनजर गर्दै चुनावी प्रचारप्रसार लगायतका गतिविधिहरुमा सम्वेदनसिलता अपनाउन सकिए संक्रमणको जोखिमलाई कम गर्न सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो ।
नेपालमा तत्काल १२ वर्ष माथिका उमेर समूहका लागि खोप प्रयोगमा आइरहेको छ । करिब ५ करोड खोप ल्याएकोमा ४ करोडभन्दा बढी प्रयोग भइसकेको छ । गएको महिना म्याद गुज्रिने खोपहरु समय भित्र नै लगाइसकिएको छ । नेपालमा भेरोसेल बाहेक कोभिडसिल, एस्ट्राजेनेका, जोनसोन एन्ड जोनसोन, फाइजर, मोर्डना खोप उपलब्ध रहेका छन् ।
त्यस्तै, हरेक स्थानीय तहले जिल्लाहरुमा समन्वय गरेर बाँकी भएका लक्षित जनसंख्याको आधारमा खोप अभियान सञ्चालन गरेका छन् । साथै निर्वाचनकै दिन मतदान केन्द्रमा खोप लगाउन सम्भव नभएको अधिकारीको भनाइ छ ।
कोरोना विरुद्धको खोप नलगाएकाहरुले मतदान गर्न नपाउने हुन् कि भन्ने प्रश्न उठिरहेको बेला स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले खोप नलगाएकाले पनि मतदान गर्न पाउने र मतदान गर्न जाँदा कोभिड कार्ड अनिवार्य हुनु पर्ने प्रावधान नरहेको स्पष्ट पार्नुभयो ।
निर्वाचनलाई ध्यानमा राखेर पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै मास्क, स्यानिटाइजर र एक आपसमा दुरी कायम गर्न भने स्वास्थ मन्त्रालयले आग्रह गरेको छ ।