काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताउनुभएको छ ।
सोमवार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा महतले ओलीको पालामा ऋणमय बनेको देश अब विस्तारै अनुदानमय बन्न लागेको बताउनुभयो ।
ओलीको पालामा लिइएको देश ऋण अनुत्पादक क्षेत्रमा प्रयोग भएको महतको दाबी थियो । ओलीले १९ अर्ब ऋण प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर विश्व बैंक लगायतबाट लिएर सबै आफ्नो मान्छेहरू, कार्यकर्ताहरूलाई बाँडेको मतले आरोप लगाउनुभयो ।
ओलीले ऋण लिएर घ्यू खाने काम गरेको उहाँको आरोप छ । ‘ऋण लिएर घ्यू खाने भन्छन् त्यही काम गरे,’ महतले भन्नुभयो ‘घ्यू खाएपनि सबै जनताले पाउने गरी दिएको भए त ल दियो भन्न हुन्थ्यो केही सिमित व्यक्तिहरूले घ्यू खाए, त्यो पनि ऋण लिएर ।’
ओलीले अहिले पनि सरकारको नेतृत्व गरिराखेको भए देश श्रीलंकाको बाटोमा गइसकेको हुने महतको भनाइ छ ।
वर्तमान सरकारले ऋण लिनै परेको खण्डमा सहुलियत दरमा मात्रै लिने गरेको उनको भनाइ छ । ‘कमर्सियल रेटमा ऋण लिने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने, अनि त्यहाँको लागत बढाइराख्ने, त्यसवाफत कमिसन खाइराख्ने, अनि कहिल्यै तिर्न नसक्ने गरी श्रीलंकाको बाटोमा पु¥याउने दुस्चक्र थियो,’ उहाँले बताउनुभयो ।
अहिले ऋणमयबाट मुक्त देश अनुदानमय भइरहेको उहाँको जिकिर थियो । अहिलेको सरकारले झण्डै ६० अर्ब एमसीसी अन्तर्गत अनुदान पाएको महतको भनाइ थियो । तत्कालै फेरि अमेरिकाले ८० अर्ब अनुदान दिने सम्झौता भइसकेको पनि उहाँले जानकारी गराउनुभयो । जम्माजम्मी १४० अर्ब अनुदान अमेरिकाले दिन लागेको बताउदै उहाँले यति ठूलो अनुदान नेपालको इतिहासमा एकै पटक आको पहिलोपटक हुने उहाँले दाबी गर्नुभयो ।
प्रवक्ता महतले भारत, चीन लगायतका अन्य देशबाट पनि अनुदान सहयोग आइरहेको जानकारी दिनुभयो । उहाँले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको प्रसँग जोड्दै नेपाली कांग्रेसको सरकार बनेपछि अन्तर्राष्ट्रिय समुदायमा विश्वासको वातावरण बढेको दाबी गर्नुभयो ।