प्रेम यादव
रौतहट । आसन्न वैशाख ३० को निर्वाचनको लागि मंगलवार राति १२ बजेदेखि छिमेकी राष्ट्र भारतसँग जोड्ने रौतहटका सम्पूर्ण नाका बन्द भएका छन् ।
शुक्रवार हुने स्थानीय निर्वाचनलाई शन्तिपूर्ण वातावरण बनाउनका लागि मंगलबारदेखि छिमेकी मुलुक भारतसँग जोडिएको सीमा बन्द भएको हाे ।
सीमा नाका निर्वाचनको ७२ घण्टा अगावै बन्द गर्ने निर्णय कार्यान्वयन भएको छ ।
आजबाट गौर भन्सारको मुख्य सीमानाका, महादेवपट्टी, बेलविछवा नाका, बंकुल नाका लगायत सम्पूर्ण नाकाहरु सिल भएका छन् । भारतीय नम्बर प्लेटका सवारी साधनलाई समेत कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी)सुनिल मल्लले बताउनुभयो ।
त्यस्तै वैशाख ३० गते (शुक्रवार) निर्वाचनको दिन अत्यावश्यक सवारी साधन र अनुमति पत्र प्राप्त सवारी साधन मात्र चल्ने जिल्ला प्रशासन कार्यालय रौतहटले विज्ञप्तिमार्फत जनाएको छ ।
शुक्रवार बिहान ५ बजे देखि बेलुकी ६ बजेसम्म एम्बुलेन्स, दमकल , शव वाहन, दूर सञ्चार सेवा, अस्पताल सेवा, विद्युत बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन बन्द रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिसं. २०६४ सालमा रौतहटमा अति संवेदनशील रहेको १२१ मतदानस्थलहरुलाई परिमार्जन गरेपनि हाल ८३ मतदानस्थल अझै संवेदनशील नै रहेको छ ।
रौतहट जिल्लामा भारतसँग जोडिएको गौर, राजदेवी, इशनाथ, बौधीमाई, परोहा, र चुरेसँग जोडिएका चन्द्रपुर नगरपालिकासहित १४ पालिकाको ८३ वटा मतदान स्थल संवेदनशील रहेको छ भने गरुडा, माधवनारायण, गुजरा नगरपालिका र यमुनामाई गाउँपालिकामा मतदानस्थल संवेदनशील नरहेको बताइएको छ ।
रौतहटमा ११९ संवेदनशील र ७४ सामान्य गरी २७६ मतदानस्थलमा ४७७ मतदान केन्द्र रहेका छन् ।