चितवन। जिल्लामा स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । भोलि हुन लागेको निर्वाचनमा ३ लाख ९७ हजार ६ सय ८५ जना मतदाताले मतदान गर्दै छन् ।
चितवनका सातवटै पालिकामा सुरक्षा अवस्था बलियो बनाइएको छ । प्रत्येक मतदान स्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । सबै पालिकाका मतगणना स्थललाई सुरक्षित बनाइएको छ । मतगणना हुने स्थानमा फलामको बारसहित तारजाली लगाइएको छ ।
यस्तै, मतपेटिका राख्ने कोठादेखि मतगणना हुने स्थलमा सीसी क्यामेरा जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिनुभयो।
अघिल्लो निर्वाचनमा मतगणना गर्ने क्रममा मतपत्र च्यातेका थिए । यो विषय अहिले पनि चर्चामा छ । यो पटक त्यस्तो नहोस् भनेर निर्वाचन कार्यालयले फलामसहित तारजाली राखेर मतपत्र सुरक्षित बनाउन खोजेको छ ।
भरतपुर महानगरपालिकामा चितवन उद्योग संघ प्रर्दशनी केन्द्रको ब्लक सी, माडीको माडी क्याम्पसको पहिल्लो तल्ला राप्ती, नगरपालिकाको भण्डारा मावि, खैरहनीको खैरहनी मावि, कालिका नगरपालिकाको पदमपुर स्थित आमा संजालको भवन र इच्छाकामना गाउँपालिकाको गाउँपालिकाकै भवनमा मतगणना स्थल तोकिएको छ ।
यो पटकको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका सबैभन्दा चर्चामा छ । २९ वडा रहेको महानगरमा १ लाख ८५ हजार ७ सय ५२ जना मतदाता छन् । भरतपुर महानगरपालिका भित्रका सबै मतगणना स्थलमा आवश्यक तयारी पुरा भएको छ । प्रत्येक मतगणना स्थलमा ८ वटा सिसि क्यामेरा जडान भइसकेको छ भने केहि ठाउँमा सीसी क्यामेरा थपगर्ने तयारी छ ।
यस्तै, माडीमा १२ वटा सीसी क्यामेरा जडान गरिएको छ। मतगणना स्थलमा सीसी क्यामेरा मार्फत निगरानी गर्ने व्यवस्था मिलाइएको हो ।
हरेक मतगणनास्थलमा सीसी क्यामेरामार्फत निगरानी गर्ने व्यवस्था गरिएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना हुँदै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिले मतपत्रै च्यातेका थिए। जेठ १४ गते मध्यरातमा भएको घटनापछि सो वडामा पुनः मतदान भएको थियो।
सोही घटनाबाट पाठ सिक्दै चितवनका पालिकाको मतगणनास्थलमा तारजालीसहित सीसीटिभी जडान गरिएको हो। अहिले देशका आधिकांश स्थलमा जालीसहित सीसीटिभीको व्यवस्था गरिएको हो।