काठमाडाैं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले स्थानीय निर्वाचनको पहिलो चरण शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएको छ ।
शुक्रवार स्थानीय तह निर्वाचन २०७९ को प्रथम चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको हो ।
प्रथम चरणको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग बोल्दै समितिका निवर्तमान महासचिव डा. गोपालकृष्ण शिवाकोटीले काठमाडौंको बानेश्वरमा कल सेन्टर स्थापना गरेर स्थानीय निर्वाचनको पर्यवेक्षण गरिरहेको बताउनुभयो ।
उहाँले नियोकले ७७ जिल्लामा १२ सय पर्यवेक्षकहरु खटाएर निर्वाचनको सूचना संकलन गरिरहेको पनि जानकारी दिनुभयो । निवर्तमान महासचिव शिवाकोटीले आज बिहान ११ बजेसम्मको जानकारी अनुसार देशभरका विभिन्न ३६ वटा मतदान केन्द्रमा प्रचारप्रसारका सामग्रीहरु मतदान केन्द्रको वरपर पाइएको बताउनुभयो ।
उहाँले १७ वटा मतदान केन्द्रहरु बाहिर मत किन्ने जस्ता क्रियाकलाप भएको पाइएको, ४०४ वटा मतदान केन्द्रमा कम्तिमा ७ जना मतदान अधिकृत उपस्थित रहेको पाइएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार लगभग सबै मतदान केन्द्रमा (९९) प्रतिशत मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक सबै सामग्री पाइएको छ । उहाँले ८४.४३ प्रतिशत मतदान केन्द्र ७ देखि ७ः१५ बजेसम्म खुलेको, ९.७३ प्रतिशत मतदान केन्द्र ७ः१६ देखि ७ः३० सम्म खुलेको, ५.६० प्रतिशत मतदान केन्द्र ७ः३१ देखि ८ बजेसम्मको समयमा खुलेको र ९ वटा मतदान केन्द्रहरु भने १ घण्टा ढिलो खुलेको विवरण प्राप्त भएको बताउनु भयो ।
निवर्तमान महासचिव शिवाकोटीले नियोकले गरेको पर्यवेक्षणका अनुसार मतदान गर्न आउने मतदाताहरुको उपस्थिति उल्लेख्य रहेको बताउनुभयो । प्रथम चरणको निर्वाचनमा नियोकको पर्यवेक्षणअनुसार निर्वाचनमा एकाध स्थान बाहेकका स्थानमा निर्वाचन प्रक्रियालाई असर पर्ने प्रकृतिका घटनाहरु प्राप्त नभएको र सुरक्षा निकाय तोकिएको स्थानमा तैनाथ रहेको पाइएको छ । नियोकले मतदाताहरुलाई आफ्नो लोकतान्त्रिक एवं संवैधानिक अधिकार प्रयोग गरेर भयरहित रुपमा मतदान गर्न आह्वान गरेको छ ।