काठमाडाैं । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले निर्वाचनको प्रथम चरणमा मतदाताहरुको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको बताएको छ ।
शुक्रवार मध्यान्ह गरेको पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका निर्वाचन पर्यवेक्षकहरुले शान्तिपूर्ण रुपमा चुनाव भइरहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ का पर्यवेक्षक कल्याणकुमार श्रेष्ठले शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरुले पनि संयमता अपनाएर निर्वाचनमा सहभागीता भएको र आम मतदाताहरुले पनि संयमता अपनाएको उल्लेख गर्नुभयो ।
उहाँले मतदानमा सहभागी हुनेमा ज्येष्ठ नागरिकहरु, महिलाहरु र अपाङ्गहरु पनि उल्लेख्य रहेको पाइएको बताउनुभयो। उहाँले अपाङग्हरुका लागि अपाङ्गमैत्री मतदान स्थल नभएकोले त्यसलाई आगामी दिनमा सुधार गर्नुपर्ने बताउनुभयो।
उहाँले मतदाताहरुमध्येमा लगभग ८० प्रतिशत मतदाताले मतदाता परिचयपत्र लिएर मतदान गर्न आएको बताउनुभयो । पर्यवेक्षक श्रेष्ठले काठमाडौं जिल्लाका विभिन्न मतदान केन्द्रहरुको अवलोकन तथा निरीक्षण गर्नुभएको छ।
त्यस्तै पूर्वप्रधान्यायाधीश तथा पर्यवेक्षक सुशीला कार्कीले भक्तपुरका विभिन्न ९ मतदान केन्द्रहरुको अवलोकन गर्नुभएको थियो । जसक्रममा मध्यान्ह १२ बजेसम्म अधिकांश स्थानमा महिला निर्वाचन अधिकृत पाइएको बताउनुभयो।
त्यस्तै, निर्वाचन भने शान्तरुपमा नै भइरहेको र मतदान केन्द्रमा व्यवस्थापकीय कुराहरुमा विशेष जोड दिएको पाइएको बताउनुभयो । पर्यवेक्षक कार्कीले भक्तपुरका केही स्थानमा उम्मेदवारहरुले मतदाताका लागि खानाको व्यवस्था आफ्नो घरमा गरेको पाइएको पनि बताउनुभयो । उहाँले मध्यान्हसम्म अधिकांश मतदान केन्द्रमा आधा भन्दा बढी मत खसिसकेको बताउनुभयो ।
त्यस्तै, पर्यवेक्षक एवं पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा मतदाताको उपस्थिति उल्लेख्य रहेको बताउनुभयो । उहाँले जुनकुनै उमेर समूहका मानिसहरु पनि आफ्नो मताधिकारको प्रयोगका लागि आएकोले सहभागिता उत्साहपूर्ण रहेको बताउनुभयो । उहाँले कुनै पनि मतदान केन्द्रमा निर्वाचन सामग्रीहरु नपुगेको गुनासो नआएको र सुरक्षा व्यवस्था पनि राम्रो भएको पाइएको बताउनुभयो ।
पर्यवेक्षक पोखरेलले यसपटककाे निर्वाचनको व्यवस्थापकीय पक्षमा गुणात्मक सुधार देखिएको बताउनुभयो । पर्यवेक्षकको रुपमा उहाँले ललितपुर जिल्लाका मतदान केन्द्रहरुको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो ।