मकवानपुर । स्थानीय तहको निर्वाचन अन्तरगत मकवानपुरमा शान्तिपूर्ण ढंगबाट मतदान भएको छ । मकवानपुरको १० स्थानीय तहमा रहेका मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा कुल मतदाताको ६० प्रतिशत बढी मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । दिउँसो वर्षा भएकोले केही स्थानमा मतदान प्रक्रिया जारी रहेकोले पूर्ण तथ्यांक आउन बाकी रहेको उहाले बताउनुभयो । बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा मतदाताहरु उल्लास पुर्वक सहभागी भएका थिए ।
निर्वाचन केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ मतदानको व्यवस्था गरिएको थियो ।
मकवानपुरका प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आजैबाट सबै स्थानीय तहमा मतगणना हुने छ । जिल्लाको १० ओटै स्थानीय तहमा मतगणना स्थलको तयारी समेत पूरा भएको बताउदै उहाले मतदान केन्द्रहरुबाट मतपेटिका संकलन गरि मत गणना स्थमा ल्याउने तयारी समेत भएको बताउनुभयो ।
मकवानपुर जिल्लामा २ लाख ९४ हजार ९ सय १९ मतदाता रहेका छन्। भने जिल्लामा मतदानको लागि ३सय ५६ मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।
जिल्लामा सबैभन्दा बढि मतदाता बागमती प्रदेशको एकमात्रै उपमहानगरपालिका हेटौंडामा १ लाख ४ हजार ४ सय ७३ र सबैभन्दा कम इन्द्रसरोबर गाउँपालिकामा १२ हजार ४ सय ७१ मतदाता रहेका छन् ।
मकवानपुरमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी कुल १ हजार ९सय ३२ जना उम्मेदवार छन् ।