काठमाडौं । देशका ६ महानगरपालिकामध्ये अधिकांशमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता लिइरहेका छन् ।
काठमाडौं महानगरपालिका वाहेक पाँचवटा महागरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार अग्रस्थानमा रहेका छन् ।
काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राख्नुभएको छ । शुरुवाती मतगणनादेखि नै अग्रता लिनुभएका उहाँले हालसम्म १ हजार ५८७ मत ल्याउनुभएको छ । दोस्रो स्थानमा एमालेका केशव स्थापितले ८८७ मत पाउनुभएको छ ।
ललितपुरमा नेपाली काँग्रेसका चिरिबाबु महर्जन अगाडि हुनुहुन्छ । अहिलेसम्म उहाँले ७०६ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहनुभएका एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाउनुभएको छ ।
उता भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम गर्नुभएको छ । उहाँले १ हजार १०५ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका विजय सुवेदी १ हजार ७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । भरतपुरमा काँग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गर्नुभएको छ ।
पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४८१ मतका साथ अग्रता लिनुभएको छ । नेकपा एमालेका कृष्णराज थापाले ४१६ मत ल्याएर आचार्यलाई पछ्याइरहनुभएको छ ।
उता विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता लिनुभएको छ । उहाँले १ हजार ५९८ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा नेकपा एमालेका सागरकुमार थापाले १ हजार १७४ मत ल्याउनुभएको छ ।
विरगञ्ज महानगरपालिकामा पनि गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी जसपा नेपालका राजेशमान सिंहले १४३० मतका साथ अग्रता लिनुभएको छ । उहाँलाई एमालेका विजयराज सरावगीले ७२२ मतले पछ्याइरहनुभएको छ ।