काठमाडौं । नेपाल प्रहरी (जनपद) को महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रमुख बनाउने निर्णय ग¥यो । संयोग नै मान्नुपर्छ, फरक फरक प्रकृतिका दुई फौजको कमाण्ड खनालद्वयले सम्हाल्ने अवसर पाएका छन् ।
नेपाल प्रहरीमा आइजीका लागि डिआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुस्कर कार्की र धीरु बस्न्यात तीब्र प्रतिष्पर्धामा थिए भने सशस्त्रमा एआईजीद्वय खनाल र पुष्पराम केसी दाबेदार थिए । तर, खनालद्वय नै बरियतामा पहिलो नम्बरमा थिए । सशस्त्र भन्दा नेपाल प्रहरीमा आईजी छनोटमा सकस परेको थियो । आइजीका लागि दाबेदार मानिएका सबै अब्बल थिए । यो पटक आइजी नियुक्तिमा देखिने गरी शक्तिकेन्द्रको चलखेल हुन पाएन । प्रधानमन्त्री केपी शर्मा ओलीले दाबेदारहरुलाई बालुवाटार प्रवेशमा समेत रोक लगाएका थिए ।
उनले बरियतालाई पनि तोडेनन् । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाउने प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली लगायत एमाले मन्त्रीहरुको असहमतिका कारण साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सहित प्रधानमन्त्री र गृहमन्त्रीको अलग्गै बैठक बसेको थियो । प्रचण्डले अघिल्लो पटक पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्त नगर्दा भएको लफडा स्मरण गराएपछि अन्ततः प्रधानमन्त्री ओली बरिष्ठताकै आधारमा महानिरीक्षक नियुक्त गर्न सहमत भएका थिए ।
सरकारको यो निर्णयसँगै महानिरीक्षक बन्ने दौडमा रहेका रमेश खरेलले राजीनामा दिइसकेका छन् । खरेल बरियता क्रममको दोस्रो स्थानमा थिए । तेस्रो बरियतामा रहेका डिआइजी पुष्कर कार्की भने सरकारको निर्णयमा आफूले सम्मान गर्ने प्रतिक्रिया दिइरहेका छन् । सरकारले आफ्नो हिसाबले आफ्नो तरिकाले काम गरेको र आफुले संगठनमा रहेर व्यावसायिक निष्ठा अनुसार काम गर्नुपर्ने कार्कीको तर्क छ । हुनपनि आफू अनुकूल पद नपाएर राजीनामा दिने र अदालत धाउने प्रक्रियाले गलत नजिर बस्ने संगठनको छबि बिग्रिने गर्छ ।
गत भदौमा एसएसपीबाट डिआइजीमा बढुवा हुँदा खनाल सबैभन्दा बढी अंकसहित एक नम्बरमा थिए । दुई नम्बरमा रमेश खरेल र तीन नम्बरमा पुस्कर कार्की थिए । खनालले ८४ दशमलव ४ हजार ७ सय ३४ अंक प्राप्त गरेका थिए । त्यस्तै खरेल र खनालले क्रमश ८३ दशमलव ८ हजार ५ सय १० र ७८ दशमलव २ हाजार ३ सय ११ अंक पाएका थिए ।
नेपाल प्रहरीको नियमावली २०७१ को नियम ४१ अनुसार आइजीपी नियुक्तिका लागि प्रस्ताव पेश गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्ने सामथ्र्यको मूल्याङ्कन गर्नुपर्नेमा अघिल्लो पटक अदालतसमेत विवादमा पर्ने गरी चलेको मुद्दामा कार्यसम्पादन मूल्याङ्कनलाई प्रमुख आधार मानिएको थियो ।
२०२३ सालमा तनहुँमा जन्मेका खनालले देशमा विद्यमान गुन्डागर्दी, आर्थिक ठगी र खेलकुद क्षेत्रमा देखिएका अपराधका विषयमा उल्लेखनीय काम गरेका छन् । आर्थिक विवादमा पनि नमुछिएर क्लिन छवि कायम गर्न उनी सफल छन् । २०४६ माघ २९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका खनाल महानगरीय अपराध अनुसन्धान महाशाखामा रहदा गुन्डा नाइके कुमार घैँटेको इन्काउन्टरका कारण चर्चामा आएका थिए ।
शान्ति विद्या निकेतनबाट २०३८ सालमा एसएसलसी उत्तीर्ण गरेका खनालले काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेका थिए । प्रहरी निरीक्षक भएको नौ वर्षपछि उनी डिएसपीमा बढुवा भएका थिए । २०६८ सालमा एसएसपीमा बढुवा भएका खनाल गतवर्ष डिआइजीमा बढुवा भएका थिए ।
२०४९ सालको इन्स्पेक्टरकै ब्याची हुन्, शैलेन्द्र खनाल । २०५८ सालमा सशस्त्र प्रहरी खुलेपछि उनी नेपाल प्रहरीबाट सशस्त्रमा पुगेका थिए । उनी यस्ता भाग्यमानी यस्ता हुन, जवकी उनका ब्याचीहरु अहिले पनि नेपाल प्रहरीमा एसएसपी पनि हुन सकेका छैनन् । तर, उनी एआइजी हुँदै सशस्त्र प्रहरीको प्रमुख बनेका छन् । एआइजी भएपनि शैलेन्द्रले डीआइजी सर्वेन्दलाई दाजु भनेर बोलाउने गर्थे । उनीहरुको निकै बलियो सम्बन्ध छ । समयक्रमले यी दुई दाजुभाई दुई प्रहरी संगठनको कमाण्डर बनेका छन् । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा हदका कारण बुधबारबाट अनिवार्य अवकाश पाउँदैछन ।
https://www.youtube.com/watch?v=ZY3BLKXdBHc