काठमाडाैं । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको हो ।
बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी हुनुभएको थियो ।
उहाँले सात हजार २०१ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाउनुभयो। नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी हुनुभएको छ। उहाँ पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी हुनुभएको थियो।
उपप्रमुख तामाङले सात हजार ६२३ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाउनुभएको छ ।
नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नम्बर वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ।
वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन्। वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०।८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।