काठमाडाैं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म निर्विरोधसहित १३ हजार भन्दा बढी उम्मेदवार निर्वाचित भएका छन् ।
सोमवार निर्वाचन आयोग, नेपालले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो ३ः३० बजेसम्ममा निर्विरोधसहित १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको बताउनुभएको हो।
जसमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, वडा अध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ निर्विरोध निर्वाचित हुनुभएको उहाँले उल्लेख गर्नुभयो ।
विभिन्न कारणले मतदान स्थगित भएका धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका वडा नं. ६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनि गाउँपालिका ५ को पालिका भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ को भगवती मा.वि.मा आज मतदान भएको प्रवक्ता पौडेलले बताउनुभयो।
त्यसैगरी, बझाङको केदारस्यु गाउँपालिका वडा नंं. ४ को जगन्नाथ उच्च माव., बझाङको सुर्मा गाउँपालिका वडा नं. २ को आधार बगर मा.वि. र बझाङको सुर्मा गाउँपालिका वडा नं. ३ कृष्ण प्रावि मतदान केन्द्रमा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइसकेको र बाँकी रहेका मतदान केन्द्रहरुमा पनि छिट्टै सुचना दिएर निर्वाचन गराइने बताउनुभयो । आयोगका प्रवक्ता पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि आयोग कहिँ पनि नचुकेको स्पष्ट पार्नुभयो ।
छिटपुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उहाँले बताउनुभयो । प्रवक्ता पौडेलले १३० पालिकाको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको बताउनु भयो ।