मकवानपुर । जिल्लाको १० स्थानीय तह मध्ये ३ ओटा स्थानीय तहको मतगणना सकिएको छ । जसमा २ पालिकामा नेकपा एमाले र १ पालिकामा गठबन्धनले जीत हासिल गरेको छ ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा गठबन्धनको उम्मेदवारलाई हराउँदै नेकपा एमालेका देवकृष्ण पुडासैनी र उमादेवी लामा क्रमशः अध्यक्ष र उपाध्यक्षमा जीत हासिल गरेका हुन् ।
यस्तै, भीमफेदी गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका सन्जीव श्रेष्ठ विजयी भएका छन् ।
यसैगरी कैलाश गाउँपालिकामा गठबन्धनले जितेको छ । अध्यक्षमा गठबन्धनबाट नेपाली काङ्ग्रेसका लोकबहादुर मोक्तान र उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भएका हुन् ।
सोमबार साँझसम्म मकवानपुरको ५२ वटा वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका ५२ वटा वडा मध्ये २५ वटा वडामा जीत हासिल गर्दै नेपाली कांग्रेस पहिलो भएको छ ।
यस्तै, माओवादी केन्द्रले १५ र एमालेले १२ वटा वडामा अध्यक्ष जितेको छन् ।
मकवानपुरमा १०२ वडा छन् । अहिले हेटौंडा उपमहानगरपालिकाको भने ३, ४,५, ६, १६ र १७ को मतगणना भइरहेको छ ।