-रम्भा पौडेल
मानव प्रकृतिकै देन हो । खाना,पानी र हावाको सन्तुलनले नै हाम्रो शरीर स्वस्थ रहन्छ । त्यो सन्तुलन प्रकृतिबाट नै प्राप्त हुन्छ । त्यसैले भनिएको छ– आहार, बिहार, निद्रा र आराम मानव जीवनका अत्यावश्यक कुराहरु हुन । यिनै कुराहरुको सन्तुलनले नै जीवन स्वस्थ र उर्जाशील बन्दछ । खानाले मात्र मानव शरीर स्वस्थ बन्न सक्दैन, त्यसका लागि बिहार अथवा घुमफिर, निद्रा र आराम पनि आवश्यक कुराहरु हुन् । मानिस स्वस्थ रहनका लागि खाना, निद्रा र घुमफिर आजको दुनियाँमा मात्र नभई वैदिक कालदेखि नै यसको अभ्यास हुँदै आएका कुराहरु हुन् । हुनेखानेहरु समय मिलाएर सधैंजसो घुम्ने गर्थे भने कमजोर आर्थिक अवस्था हुनेहरु पनि जीवनको उत्तारार्धमा तीर्थाटनका नाममा घुम्ने गरेको परंपरा त हाम्रा सामुु छँदैछ ।
बिगत तीन बर्षदेखि विश्व कोभिडको चपेटामा पर्दै अगाडि बढ्यो । यसको प्रत्यक्ष असर मानव जीवनका बिभिन्न क्षेत्रमा देखा परे । उद्योग ब्यापार ,शिक्षा ,ब्यवसाय सबै यसका प्रभावमा परे । प्रत्यक्षरुपमा अर्थतन्त्रमा यसको असर देखियो । धेरैले ज्यान नै गुमाए भने आर्थिक संकटको प्रभाव अहिले विश्वमा विभिन्न मुलुकमा देखा पर्दैछ । श्रीलंकामा यसको असरले आर्थिक मन्दि नै आएको छ । रुस र युक्रेनको युद्धले अझ महंगीको चाप बढ्दैछ ।
विद्यालय शिक्षामा यसको असर प्रत्यक्ष रुपमा परेको छ । विगतका वर्षहरु अनलाइन माध्यमबाटै पठन–पाठन भई एसईई परीक्षा दिइएको छ भने यो वर्ष बालबालिकाहरु विद्यालय जाने र भौतिक उपस्थितिमै परीक्षामा सामेल हुने मौका पाएका छन् ।
भ्याक्सिनको प्रभावले कोरोनाको असर कम भएको छ एकातिर भने अर्कोतिर विश्वमा बढ्दैगएकोे राजनीतिक खिचातानी, ध्रुवीकरण, युद्ध , कोरोना र त्यसले जन्माएका बेरोजगारीजस्ता कारणहरुले आर्थिक संकट व्यक्तिमा मात्र नभएर सिंगो राष्ट्रमा नै देखा पर्दैछ । पेट्रोलियम पदार्थमा अरु देशमा भर पर्ने नेपालजस्ता देशहरुमा यसको अभावका संकेतहरु देखिएका छन् । यिनै कुराहरुलाई मध्यनजर गरी सरकारले हप्तामा दुुई दिन बिदाको अवधारण अगाडि ल्याएको छ । हाम्रो देशको लागि यो नौलौ कुरा भएपनि अरु देशका लागि यो कुरा अभ्यासका आइसकेका बिषय हुन् । पाँचदिन पढाउने र दुईदिन बिदा दिँदा बालबलिकाले गृहकार्यलाई बोझको रुपमा नलिई स्वस्थ पढाइको रुपमा लिएका उदाहरण बिभिन्न मुलुकको अभ्यासले देखाइसकेको छ ।
नेपालका निजी विद्यालयले विद्यालयमै खाना खाने व्यवस्था गरेका छन् तर सरकारी विद्यालयमा यो अझै सम्भव भएको छैन । कक्षा पाँचसम्मका बालबालिकाले भने खाजा खान पाउने व्यवस्था सरकारी विद्यालयमा छ । अब नेपालका नमुना विद्यालयले हप्तामा दुईदिन बिदाको भरपुर उपयोग गर्ने छन् भने विद्यालय समयलाई पनि परिर्वतन गर्न जरुरी देखिन्छ । विद्यालयलाई बिहान ७ बजे खोल्ने र दिउसो ३ बजे बन्द गर्ने परिपाटी बनाउन सकेमा बिहानको ताजा समयमा बालबालिकाले रमाएर पढ्ने अवसर पाउने छन्, यसकालगि भने बिद्यालयमै खानाको ब्यवस्था मिलाउन पर्ने देखिन्छ ।
विद्यालयमा यसका सकारात्मक प्रभावहरु :
नेपाली समाजको गुुरुकुलीय शिक्षाले दिएको एउटा उखान छ- घोकन्ते विद्या धावन्ते खेती । खेतीका लागि धाउनै पर्छ । गोडमेल पानी र स्याहार गर्नै पर्छ भने विद्या पनि नपढी जान्ने कुरा होइन । तर पनि यही भनाइले अझै नेपाली समाजमा जरा गाडेको छ । स्कूल भनेको दिनभरि बच्चाहरलाई घोकाइरहने र रटाइरहने स्थान हो भन्ने भ्रम छ । बच्चाहरुलाई त्यहाँभन्दा बाहिर जान दिनु हुँदैन भन्ने मान्यता अहिले पनि रहिरहेको छ । समय र परिस्थिति कति अगाडि बढिसक्यो त्यसको बारेका हाम्रा नेपाली अभिभावकहरु अझै अनभिज्ञ नै हुनुहुुन्छ । त्यसैले एकदिन शिक्षक विदा बस्दा अथवा स्कूल बिदा हुँदा धेरै टिका–टिप्पणी हुने गर्दछ । हिजोका बालबालिका र आजका बालबालिकाको आवश्यकता र उदेश्य नै फरक छ भन्ने कुरा जान्न जरुरी छ । हिजो पाठयपुस्तक बाहेक पढाइका अरु माध्यमहरु थिएनन् त्यसैले पुस्तक रटानमै उनीहरुलाई लगाइयो, सम्पूर्ण सामाजिक शिक्षा परिवार भित्रैबाट दिइयो । तर आजका बालबालिका एकल परिवारमा हुर्किरहेका छन् । उनीहरुलाई देश, समाज संस्कृति, रीतिरिवाज, परिवार र आफ्ना अग्रजहरुका बीचमा बस्ने र उनीहरुका अनुुभव सुन्ने, उनीहरुको माया ममतामा लुटपुटिने र पुराना दन्तयकथा सुन्ने अवसर पनि छैन ।
बिगत तीन बर्षदेखि कोरोनाको चपेटामा बालबालिका पनि एकोहोरो पढाइमा मात्र केन्द्रित हुँदा उनीहरुमा एकलकाटेपन बढेको छ भने उनीहरु अभिभावकलाई पटक्कै नटेर्ने भएका छन् । समयसँगै आएको नयाँ प्रविधि र सूचनासंगै आफ्नो पढाइमा अगाडि दौडनुपर्ने बाध्यकारी अवस्था सृृजना भएको छ । यस्तो अवस्थामा विद्यालय हप्तामा दुुईदिन बिदा हुँदा निम्न अवसरहरु बालबलिकालाई प्राप्त हुने देखिन्छ ।
(१) बालबालिकामा देखिएको एकलकाटेपन र मानसिक चिन्ताभन्दा माथि उठ्न यो बिदाले सघाउने छ । बिदालाई उनीहरु भरपुर मनोरञ्जनमा प्रयोग गर्ने छन् ।
(२) बिदामा आफ्ना नाता–सम्बन्धीसँग भेटघाट गर्ने हजुरवुुवा र हजुरआमाहरुसँग आफ्ना कुराहरु साझा गर्ने मौका पाउनेछन् ।
(३) बिदाका दिनमा खेती र उत्पादनसँग नजिक हुने र जान्ने अवसर पाउने छन् । फलफूल, लगाउने गोडमेल गर्ने,बीउबेर्ना उत्पादन गर्ने, विभिन्न थरिका सागपात उत्पादन गर्ने जस्ता कामहरु गर्न सिक्ने सिकाउने काम गर्न सकिन्छ ।
(४) घरमा चिया पकाउने, खाजा बनाउने, पाहुनाहरुको स्वागत गर्ने, बिदाई गर्ने, तिथि– चाडपर्व र तिनको महत्वबारे थाहा पाउने कुरालाई पनि परियोजना कार्यमा समावेश गर्न सकिन्छ ।
(५) पाककला, गायन, नृत्य, बाद्यवादन, भाषणकला, जस्ता कला–सीपहरु सिकाउन विशेष प्रोत्साहन गर्न सकिन्छ ।
(६) बाटोघाटो, कुलो–पैनी बनाउतने तथा बिबाह, ब्रतबन्ध लगायतका सामाजिक काममा सहभागी हुने र त्यसबाट सामाजिकीकरण तर्फ उन्मुख हुन अग्रसर हुनेछन् ।
(७) परिवारसँग घुमफिरको अवसर पाउने छन् ।
(८) स्वास्थ्य र सरसफाई, सामान्य रोग र चोटपटक लाग्दा प्राथमिक उपचार, घरेलु औषधी , उपचार, योग, ध्यान स्नान् , प्राणायाम आदिका बारेमा पनि सामान्य ज्ञानको जरुरी हुन्छ । यो कुरा सिक्ने पनि अवसर मिल्नेछ
(९) घुमफिर र मनोरञ्जनपछि आफ्नो पढाई छुट्यो कि भन्नेतर्फ उनीहरुको ध्यान जानेछ । पढाइमा पनि स्वअध्ययन, छलफल, अन्तर्वार्ता, अवलोकन, परीक्षण आदि विधिको प्रयोग हुने कामहरु गराउनु पर्छ ।
(१०) विद्यालयको गृहकार्यलाई उनीहरुले बोझको रुपमा नभई आफनो कार्यको रुपमा लिनेछन् ।
(११) विद्यालयले दिएका परियोजना कार्यलाई आफनो गाउँ केन्द्रित भई सम्पन्न गर्ने अवसर पाउने छन् ।
(१२) पढाइलाई बोझको रुपमा नभई मनोरञ्जनको रुपमा लिनेछन् ।
(१३) मोवाइलमा मात्र खेल्ने बानीलाई छाडेर प्रत्यक्ष साथीभाइको सहभागितामा खेलहरुमा भाग लिई मानसिक र शारीरिक स्वस्थता पाउने छन् ।
(१४) घरमा बस्दा चित्रकला, हस्तकला, हस्तलेखन आदिलाई निखारता दिनेछन् ।
(१५) विद्यालयले बस सञ्चालन गर्दा लाग्ने पेट्रोलियम पदार्थको बचन हुनेछ ।
(१६) यो बिदामा बिद्यालयले आफ्ने शैक्षिक कार्यक्रमका लागि भ्रमणको आयोजन गर्न सक्नेछ ।
(१७) शिक्षकलाई पेशा र घर बीच सन्तुलन मिलाउन र समाजका सांस्कृतिक–समाजिक कार्यमा सहभागि हुन सहज हुनेछ ।
(१८) शहरमा बढीरहेको प्रदुुषण घटाउन सघाउ पुग्नेछ ।
निष्कर्ष :
हरेका व्यक्तिको जीवनमा होस् या राष्ट्रमा नयाँ कुरा स्थापित गर्दा त्यसमा टिकाटिप्पणीहरु हुनुु स्वाभाविक नै हुन्छ । सरकारले ल्याएको यो दुई दिने विदाको विषयमा पनि विभिन्न क्षेत्रबाट टिका– टिप्पणी भएका छन् । थप भएको एक दिनलाई पठनपाठन भित्रकै गृहकार्यको दिनको रुपमा लिनुपर्दछ । चाहे त्यो गृहकार्य पाठयपुस्तकको होस् या समाजिकीकरणको होस । यसलाई सकारात्मक कोणबाट हेरिनुु पर्दछ । किताबी ज्ञानमात्र पढाइ नभई समाजका विविध पक्षको अध्ययन पनि अहिलेको बालबालिकाको पढाई हो भन्ने कुरा सम्झन जरुरी छ । विकसित मुलुकले एउटा विद्यार्थीको पठनपाठन गरिरहँदा समग्र जीवनको अध्ययन गरिरहेका हुन्छन् । नेपाली शिक्षकहरुलाई पनि यो दिशातर्फ लाग्न यो व्यवस्थाले प्रेरित गर्ने छ भने शिक्षकहरुलाई आफ्नो कार्यसम्पादन घनिभुतरुपमा सम्पन्न गर्न पनि यसले दबाब सृजना गर्नेछ ।