काठमाडाैं । रुसका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई मुलुकबीचको राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गर्नु भएको छ । बुधवार संसदीय सुनुवाई समितिको सिंहदरवारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदुत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध बढाउन मुख्य जोड दिने बताउनुभएको हो।
उहाँले भारत र चीन दुवैसँग अत्यन्तै निकट सम्बन्ध कायम राख्न सफल रुससँग नेपालले पनि राजनीतिक सम्बन्ध बढाउँदा चीन र भारतसँगको सम्बन्धलाई अझै सन्तुलित बनाउन सघाउ पुग्ने पनि समितिमा उल्लेख गर्नुभयो।
नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएर जानुको विकल्प नभएको भन्दै प्रस्तावित राजदुत तुलाधरले त्यो सम्बन्धलाई अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध जरुरी रहेको स्मरण गराउनुभयो।
उहाँले भन्नुभयो, ‘रुस एउटा यस्तो देश हो, भारतसँग पनि अत्यन्त निकट सम्बन्ध छ। र चीनसँग पनि उसको स्ट्राटिजिक रिलेसन छ । चीन र भारत दुवैसँग अत्यन्त निकट रहेर रुसले काम गरिराखेको छ। यसको अन्तराष्ट्रिय छवि के छ भने हिन्दू स्थानसँग पनि अत्यन्त राम्रो सम्बन्ध छ । चीनमा पनि एकदम राम्रो छ। त्यो भएकाले हामी नेपाल पनि चीन र भारतसँग मिलेरै जानुपर्ने देश हो । हामी यो भन्दा अलग भएर जान सक्दैनौं । चीन र भारतलाई सन्तुलन नराखिकन हामी जानै सक्दैनौं । त्यसरी सन्तुलन राख्दाखेरी हामीले रुससँग पनि सम्बन्ध राम्रो राख्नुपर्ने जरुरी देखिन्छ । रुससँगको सम्बन्धलाई राजनीतिक रुपमा यसरी हेर्न सकिन्छ । राजनीतिक सम्बन्ध बढाउन पहल गर्नेछु ।’
प्रस्तावित राजदुत तुलाधरले रुसको पर्यटक भित्र्याउन र नेपालको हस्तकलाका बस्तुहरु निर्यात गरेर निर्यात व्यापारमा योगदान पुर्याउन पनि आफू लागिपर्ने बताउनुभयो ।
त्यसैगरी, बैठकमा स्पेनका लागि प्रस्तावित राजदुत शर्मिला पराजुली ढकालले आफूले राजदूतको रुपमा कुनै पनि गलत काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ओमानमा राजदुतको जिम्मेवारी लिँदा आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै उहाँले स्पेनमा पनि राजदुतको रुपमा कुनै पनि गल्ती नगर्ने प्रष्टयाउनु भएको हो ।
प्रस्तावित राजदूत ढकालले देश र जनताप्रति उत्तरदायी भएर लिइएको राजदूतको जिम्मेवारीलाई आफूले अन्यथा ठाउँमा दूरुपयोग गर्न नमिल्ने समेत बताउनुभयो ।
प्रस्तावित राजदूत ढकालले हाई स्किल वर्करको व्यवस्थापनको कामलाई आफूले जोड दिने योजना पनि समितिमा पेश गर्नुभयो।