काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको छ ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफुलाई वलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गर्नुभएको थियो । लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको हो ।
सरकारलाई निर्देशन दिदैँ सभामुख सापकोटाले भन्नुभयो, ‘माननीय सदस्यहरु, माननीय सदस्यले आफ्नो भनाई राख्दैगर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धि विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडी बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभयो ।
उहाँले बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।
एक युवतीले केही दिन अघि सामाजिक सञ्जालमार्फत् आफुलाई ८ वर्ष अघि सुन्दरी प्रतियोगिताको आयोजकबाट वलात्कार भएको घटना सार्वजनिक गर्नुभएको थियो । उहाँले सो घटनामा केही व्यक्तिहरुको संलग्नता देखाउनुभएको थियो ।
उहाँको न्यायको लागि सामाजिक सञ्जालमा चर्को आवाजहरु आएका छन् भने पीडकलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ । सोही विषयले आज संसदमा पनि प्रवेश पाएको हो ।