काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । हालसम्मको अवस्था हेर्दा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन शाह परम्परागत पार्टी र उम्मेद्वारमाथि हाबी भएका छन् । खैर जित हार त चुनावमा लडिसकेपछि हुने नै भयो । तर काठमाडौंको चासो र चिन्ता भने देश र विदेशमा सर्वत्र छ ।
दल र नेताहरुसँगको फ्रस्टेसनका कारण पनि बालेन जस्ता पात्रको जन्म हुन्छ । अनि नयाँपनको स्वाद लिन पनि बालेनकै जन्म हुन्छ । बालेनले लौरो चुनाव चिह्न पाएपछि भनेको एउटा कुरा याद आयो । के उनले भने जस्तै भ्रष्टचारीलाई सेक्न र बुढाबुढीको सहारा बन्न पनि बालेनको जन्म भएको हो ?
देशभर ७५३ स्थानीय तह छन् । ६ महानगरमध्ये पनि सबैभन्दा चासोका साथ मानिसहरुले काठमाडौंलाई हेरिरहेका छन् । पश्चिमको कैलालीको मानिसले पनि काठमाडौंको पछिल्लो मतपरिणाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको छ भने पूर्वको झापाको मानिस राष्ट्रिय सभा गृह पुगेर बालेन जिन्दावादको नारा लगाइरहेका छन् । अमेरिका बस्ने नेपालीले पनि समय पाउने बित्तिकै काठमाडौंको पछिल्लो अवस्था के रहेछ भनेर मतपरिणाम हेर्दैछ भने खाडीको गर्मीमा काम गरिरहेको नेपालीले सामाजिक सञ्जालमार्फत नै बालेनको जित सम्पूर्ण नेपालीको जित भन्न भ्याइरहेको छ ।
किन भयो अन्य पार्टीलाई जित्न गाह्रो ?
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनाव जित्ने निश्चित भएको पटक पटक दाबी गरे । उम्मेदवारी दर्ता गराउँदै गर्दा आफ्नो विकल्प कोही पनि नभएको उनको दाबी थियो । उनले २०५४ सालमा पनि ८४ हजार मत ल्याएर जितेको भन्दै यसपटक १ लाख २० हजार मत ल्याएर जित्ने गफ दिए । उनले बालेनलाई फुच्चे र मधेसी मूलको भनेर टिकाटिप्पणी समेत गरे । त्यहाँबाट नै आफ्नो ब्रान्डिङ भएको बालेनले अभिव्यक्ति दिए । स्थापितले कतिसम्म भन्न भ्याए भने बालेन नेवा समुदायको नभएको र नेवा समुदायको मत सबै आफूलाई आएर जित्ने दाबी गर्न छाडेनन् ।
यता सिर्जना सिंहलाई नेपाली कांग्रेसले गठबन्धनको साझा उम्मेदवारका रुपमा अघि सारेपछि असन्तुष्टि पोखियो । कांग्रेसका पुराना नेता कार्यकर्ता र युवाहरुले कांग्रेसको उम्मेदवारी चयनमा चित्त दुखाए । कारण थियो सिर्जनाको २०४७ सालदेखि राजनीतिक विश्राम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले श्रीमती सिर्जनालाई उम्मेदवार त बनाउन सके तर सबैलाई मिलाउन सकेनन् । गोर्खा जन्मथलो भएकी सिर्जनाले गठबन्धनको अपेक्षा अनुरुप मत पाउन सकिनन् र पराजयको संघारमा पुगिसकेकी छन् । सिर्जनाले टिकट पाउने बित्तिकै विभिन्न राजनीतिक विश्लेषकले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र एमाले नेता स्थापितबीच प्रतिस्पर्धा हुने अभिव्यक्ति दिन थाले ।
कांग्रेसको कमजोर उम्मेदवारले पनि बालेनको उम्मेदवारीलाई थप टेवा पुर्यायो । सिर्जना असक्षम भने होइन तर प्रश्न के हो भने नेपाली कांग्रेसमा सिर्जनाभन्दा योग्य उम्मेदवार थिएनन् त भन्ने नै हो । कांग्रेसको उम्मेदवारका कारण पनि बालेन नै विकल्प भए ।
स्थापितले पनि सिर्जना र आफ्नो प्रतिस्पर्धा हुने तर आफूले मज्जाले जित्ने अभिव्यक्ति दिए । तर उनले सिर्जनालाई भन्दा बढी बालेनलाई आफ्नो प्रतिस्पर्धी मानेको पाइयो । उनले बालेनको आलोचना थुप्रै सार्वजनिक कार्यक्रम र मिडियामा दिएका अन्तवार्तामा गरे । बालेनकै भाषामा भन्ने हो भने उनलाई स्थापितले नै ब्रान्डिङ गरे र नचिनेकालाई पनि काठमाडौंको मेयरमा बालेन उठेको रहेछ भनेर चिनाइदिए । यसको फाइदा बालेनलाई नै भयो, त्यसैको प्रतिफल अहिले ब्यालेट बक्समा भेटिरहेका छन् ।
एकपटक सफल, सधैं सफल हुनु होइन
स्थापितको काम २०५४ सालमा मेयर हुँदाको आज पनि सम्झिने प्रशस्त छन् । तर पछि राजाले नियुक्त गर्दा उनले मेयर भएर केही गर्न नसकेको उनका समर्थकहर नै स्वीकार्छन । अस्थिर स्वभावका स्थापितको २०५४ सालको जति नै छबि नभएको एमालेका नेताहरु नै दाबी गर्छन् । एमालेबाट स्थापितले टिकट पाउँदा एमालेका थुप्रै कार्यकर्ता र नेताहरु रुष्ट भए । कहिले राजासँग पदका लागि नजिकिएका स्थापित, कहिले माओवादी त कहिले उपेन्द्र यादवको पार्टीमा समेत लागे ।
एमालेजनहरुले नै स्थापितलाई पिँध बिनाको लोटाको संज्ञा दिन्छन् । काठमाडौंका एमालेका पुराना नेता तथा पूर्वमन्त्री रामबीर मानन्धरले एक टेलिभिजन अन्तर्वार्तामा एमाले काठमाडौं महानगरबाट क्लीनस्वीप हुनेसम्मको अभिव्यक्ति दिन भ्याए । तिनैबाट थाहा हुन्थ्यो स्थापितले जति खोके पनि उनको हालत के हुँदैछ भनेर । स्थापितको उम्मेदवारीबाट पनि एमाले रुष्ट भएकाले त्यसको प्रत्यक्ष फाइदा बालेनलाई नै भएको चर्चा हुने गरेको छ ।
एक पटक सफल भएका मानिस फेरि त्यति नै सफल हुँदैनन् भन्न उदाहरका रुपमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै लिन सकिन्छ ।
भोट एक बालेन, अन्यमा पार्टी
मतगणना स्थलमा पुगेर प्रतिनिधि बसेर मतगणनाको अवस्था प्रत्यक्षरुपमा अवलोकन गरेकाहरु पार्टीगत भोट पनि बालेनलाई गएको स्वीकार्छन । उनीहरुले एक भोट मेयर लौरोमा छाप लगाएर अन्य ६ मत लगातार एमाले र कांग्रेसमा लगाएको भेटिएको पनि बताए । प्रत्येक वडामा बालेनको लिड हुनुले पनि बालनेको उम्मेदवारीको कति महत्त्व छ भन्नेलाई थप पुष्टि गर्छ ।
एमालेका वडाध्यक्षहरु निर्वाचित भएका वडामा पनि स्थापितलाई एकदम कम्ति मत आएको छ । उनीहरुले एमाले मेयरमा स्थापित छाडेर अन्त छाप लगाएकाले पनि स्थापितको जित्ने सम्भावना कम हुँदै गएको छ । मत गणनामा सहभागी भएका एक एमालेका प्रतिनिधिले भने, ‛अभियान जस्तो नै चलेको देखियो । एउटा मत लौरोमा छ अरु सबै सूर्य । हाम्रो मात्र त्यसो भएको होइन कांग्रसको पनि त्यहीँ देखियो । एक मत लौरो अन्य सबै लाइनै रुख ।’
देशभर लौरो प्रभाव
लौरो भन्ने बित्तिकै मानिसको दिमागमा एउटा कुराको जन्म हुन्छ । त्यो हो बालेन शाह । चुनाव चिन्ह लौरोको पनि राम्रै प्रभाव देखियो । पूर्वदेखि पश्चिमसम्म उम्मेदवार नै नभए पनि लौरो चुनाव चिन्हमा मत आइरहेको मतगणनामा सहभागीहरुले बताएका छन् । उता सुनसरीको धरान उपमहानगरको कुरा गर्ने हो भने लौरो चुनाव चिन्ह र रुख चुनाव चिन्हबीच मेयर बन्न कडा प्रतिस्पर्धा चलेको छ । कहिले लौरो अगाडि छ त कहिले रुख ।
काठमाडौं महानगरमा पनि लौरोको प्रभाव उपमेयर लगायतका पदहरुमा परेको स्पष्ट देखिन्छ । काठमाडौंमा लौरो चुनाव चिन्ह लिएर उपमेयरमा उठेका उम्मेदवारलाई अपत्यारिलो मत आएको छ । उनले १ हजार मत कटाइसकेका छन् । काठमाडौंको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बेन्जी सिंह महर्जनले एक हजार मत कटाएका हुन् । धेरै स्वतन्त्र उम्मेदवार १० मत नकटाएको अवस्थामा बेन्जीले भने १ हजार मत कटाएका हुन् । उनले पाएको मत संख्याबाट आँफैं अचम्ममा परेको एक मिडियालाई अन्तर्वार्ता दिएका थिए ।
यस्तै उम्मेदवार नै नभएको लौरो चुनाव चिन्हमा धेरै जिल्लामा मत परेको छ । कतिपय उम्मेदवारले लौरो चुनाव चिन्ह पाएकाले सम्मानजनक मत पनि पाएका छन् । पोखराको मेयर लड्दा अटेरी गनेश पौडेलले लौरो चुनाव चिन्ह नपाउँदा निर्वाचन आयोगसँग रुष्ट बने ।
पार्टीको विकल्प खोज्दै राजधानीबासी र युवा
चलन नै थियो बा–आमाले जसलाई भन्यो त्यसलाई मत दिने तर अहिले ठ्याक्कै उल्टो भयो । यो पटक भने छोराछोरीले बा–आमालाई कन्भिन्स गराएर बालेनलाई मत दिने वातावरण बनाएको देखियो ।
बालेन एकैपटक चर्चामा आएको नाम पनि होइन । र्याप जनराको गीत मन पराउनेका लागि बालेन पुरानै नाम हो । उनले थुप्रै प्रकारका हिट गीत दिएका छन् भने उनले बनाएका म्यूजिक भिडियो पनि करोडौंले हेरेका छन् । हाल नेपपको श्रीपेचमा जजको भूमिका निर्वाह गरिरहेका बालेन युवामाझ लोकप्रिय र प्रेरणादायी नाम हो । उनले काठमाडौंको मेयरमा उम्मेदवारी दिनु अघि नै आफ्नो ट्यालेन्टमार्फत हजारौं फ्यान बनाउन सफल भएका छन् ।
उनलाई नजिकैबाट चिन्नेले घरका बा आमालाई कन्भिनस् गरेर बालेनलाई मत दिन आग्रह गर्ने भइहाले । विकल्प खोजी गरेका मानिसहरुको सोचलाई पनि बालेनको उम्मेदवारीले थप टेवा पुर्यायो । त्यहीभएर पनि बालेनको चर्चा दिन दुई गुणा रात चार गुणा हुन थाल्यो । अन्तत बालेन स्थापित दलहरका उम्मेदवारलाई पनि माथ खुवाउने हैसियतमा पुगे ।
बालेनको उम्मेदवारीको बिम्व
बाजे जुन पार्टीको बा त्यहीँ पार्टीको बा जुन पार्टीको छोरा उहीँ पार्टीको भन्ने प्रचलनलाई बालेनको उम्मेदवारीले चुनौती दियो । यसको प्रभाव आगामी संघीय र प्रदेश चुनावमा पनि पर्ने देखिन्छ । नेताहरु मत गनेर यो मेरो मान्छे त्यो तेरो मान्छे भनेको भरमा नै मत नआउने प्रष्ट संकेत पनि हो बालेनको उम्मेदवारी । प्रतिस्पर्धामा ओर्लिनुअघि नेताहरुले राम्रो र नराम्रो कामको समीक्षा गरेर मात्र आउनु पर्ने शिक्षाका लागि हो बालेनको उम्मेदवारी । घरमा बसेर यति मत ल्याएर जित्छु भनेर चुनौती दिनेका लागि हो बालेनको उम्मे्दवारी ।
वर्षौदेखि सत्ताको बागडोर सम्हालेकाको विकल्पको लागि हो बालेनको उम्मेदवारी । नेपाली कांग्रेस, एमाले र माओवादीबाट वाक्कदिक्क भएकाको लागि हो बालेनको उम्मेदवारी । राजनीतिमा युवा उदयको लागि बालेनको उम्मेदवारी । बुढा र पाका नेतामात्र उठाउने पार्टीविरुद्ध हो बालेनको उम्मेदवारी । पार्टीको सदस्य नभइ राम्रो सोच र गर्न सक्ने क्षमता भए जो कोही जे पनि हुन सक्छ भन्ने आत्मविश्वासका लागि हो बालेनको उम्मेदवारी । बाटो बिर्सिएर पार्टीको मात्र झोला बोकेर पार्टीले जे भने पनि जे गरे पनि मान्ने कार्यकर्ताका लागि हो बालेनको उम्मेदवारी ।
पार्टीबाट आश मारेर केही हुन सक्दैन भन्नेका लागि हो बालेनको उम्मेदवारी । सहीँ बाटो एक्लै हिँडे बिस्तारै भिँड जम्मा हुँदै जान्छ भन्नेका लागि हो बालेनको उम्मेदवारी । परिवर्तन सम्भव छ भन्नेका लागि हो बालेनको उम्मेदवारी । परिवर्तन आफैंबाट गरौं भन्नेका लागि हो बालेनको उम्मेदवारी । सबै जनता भन्छन् देश परिवर्तनका लागि हो बालेनको उम्मेदवारी ।