काठमाडौं । देश चुनावमय बनेको छ । अझ अहिले त परिणाम आउनेक्रम जारी छ । त्यहीभएर पनि कतै विजयी जुलुसमा मानिसहरु सहभागी देखिरहेका छन् भने कतै नाराबाजी त कतै मुठभेड र घम्साघम्सीमै कार्यकर्ता देखा परेका छन् ।
७५३ स्थानीय तहमध्ये अधिकांशको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । देशका ६ महानगरमध्ये विराटनगरको मात्र अन्तिम नतिजा सार्वजनिक भएको छ, जहाँ मेयरमा काँग्रेस र उपमेयरमा एमालेले जित हासिल गरेको छ । सबैभन्दा चासोका साथ हेरिएको भरतपुरको नतिजा आउन भने केही समय लाग्ने देखिएको छ ।
प्रचण्डका कारण भरतपुरमा चासो
सत्ता गठबन्धनमा महानगर र उपमहानगरको बाँडफाँटबारे छलफल चल्न शुरु भएदेखि नै भरतपुरलाई सबैभन्दा चासोका साथ हेरिएको थियो । किनकि माओवादीले कुन महानगर पाउने, फेरि भरतपुर नै पाए कांग्रेसले चितवनको राजनीति प्रचण्डलाई सुम्पिने भनेर गुनासो गर्ने कांग्रेसीजन त्यति नै थिए । काँग्रेसको विरोधकाबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मनाएर नै भरतपुरको नेतृत्व गर्ने जिम्मा गठबन्धनबाट हत्याउन सफल भए ।
प्रचण्डले प्रधानमन्त्री देउवालाई लिएर भरतपुर पुगेर भने रेणु हारे देश दुर्घटनामा जान्छ । तर प्रचण्डले पछि दिएका अन्तर्वार्तामा आफूले एकजना हार्ने बित्तिकै देश दुर्घटनामा जान्छ भन्ने किसिमले नबोलेको प्रष्ट्याएका थिए । तर प्रचण्डको अभिव्यक्तिका कारणले भरतपुरको हाइट फेरि ह्वातै बढ्यो । चुनाव हार्दा देश दुर्घटनामा जाने खत्तरा भएको पालिका भरतपुरका रुपमा टिकाटिप्पणी भए ।
भरतपुर यसकारण पनि आमचासोको विषय बन्यो ६ महानगरमध्ये १ माओवादीले पाउनु अनि अझै पहिलो धाँधली गरेर जितेको ठाउँमा नै माओवादी अघि सर्नु । विपक्षी दलले २०७४ को बदला लिने भावनाले माओवादीको उम्मेदवारीलाई स्वीकार गरे । तर कांग्रेस दुईधारमा विभाजित भयो । एउटा पक्षले केन्द्रको निर्णय मान्दै अगाडि बढ्ने । अर्को पक्षबाट रेणु र एमालेलाई नै चुनौती दिनका लागि बागी उम्मेदवारी उठ्ने ।
रेणुलाई एमाले र राप्रपाको भोट
बागी उम्मेदवारले चोट पुर्याउने विश्लेषण गरेको समयमा विपक्षीकै मत तान्दै रेणु विजयी बन्ने सम्भावना देखिएको छ । रेणुले गरेको विकास र देखाएको समृद्धिका सपनाहरुलाई जनताले फेरि एकपटक अनुमोदन गर्ने निर्णय गरे ।
रेणुले यो पटक चुनाव जिते कांग्रेस र माओवादीको मतलेमात्र चुनाव जित्ने छैनन् । उनले त एमाले र राप्रपाको मायाले चुनाव जित्ने छिन् । अझ भन्ने हो भने चितवनबासीको माया र स्नेह नै रेणुलाई जिताउन पर्याप्त भएको छ । प्रारम्भिक मतगणनाको झलक हेर्दा यस्तो लाग्छ रेणुको प्रभाव राम्रै परेको देखिन्छ । उनले गफभन्दा काम बढी गरेको मतगणनाको नतिजाले थप पुष्टि गर्दैछ ।
रेणुकोे बढ्यो लोकप्रियता
रेणुलाई तेरो र मेरोभन्दा पनि हाम्रो मेयरका रुपमा भरतपुरबासीले रुचाएका छन् । २०७४ को निर्वाचनमा कांग्रेसको पूर्ण समर्थन हुँदा हुँदै मतपत्र चपाएर जिताएको आरोप माओवादीलाई आज पनि लाग्ने गरेको छ । यसपटक बागी उम्मेदवारले पनि कांग्रेसको मत राम्रो अंकमा ल्याइरहेको देखिएको छ । तर स्वतन्त्र मतमध्ये धेरै मत रेणुले पाइरहेकी छिन् । एमालेबाट मतगणनामा सहभागी भएका एक प्रतिनिधिले भने, ‛एक मत माओवादीलाई दिएर पाँच सूर्यलाई र एक राप्रपामा पनि दिएको देखियो । राप्रपाकाले पनि एक मत रेणुलाई दिएर अन्य पार्टीमा दिएको देखियो । त्यहीभएर अग्रता झन् फराकिलो बन्दैछ । यहीँ अनुसारले मत आउने हो भने एमालेबाट उम्मेदवारी दिएका विजय सुवेदीको हार निश्चित हो । सायद माओवादीलाई भन्दा पनि रेणुलाई मत दिनेहरुले खुलेर एक मत रेणुलाई दिएको हुनसक्छ ।’
जनताले सायद विकास गर्न सक्ने मेयरका रुपमा उनलाई अथ्र्याएको हुुनसक्छ । माओवादी राष्ट्रिय राजनीतिमा गेम चेन्जर पार्टी हो । सो कारण पनि रेणुलाई जनताले विश्वास गरेको हुन सक्छ । एमाले वा कांग्रेस जो सरकारमा भए पनि माओवादी त अनिवार्य नै सरकारमा हुनेउ
भएकाले नै राष्ट्रिय गौरवका आयोजना धेरै पार्न सक्छन् र बजेटको आकार बढाउन सक्छन् भन्ने विश्वासका आधारमा रेणुलाई मत दिएको हुन सक्छ । पार्टीभन्दा पनि व्यक्ति रुचाइएको कारण विजय सुवेदीभन्दा रेणुलाई बढी मत दिइएको पनि हुन सक्छ ।
परिवारवाद र नातावादको दाग
जनयुद्ध गरेर मुलधारको राजनीतिमा आएको माओवादी केन्द्रलाई परिवारवाद, नातावाद र कृपावादबाट टाढा रहन नसकेको आरोप जहिले पनि लाग्दै आएको छ । खासगरी नेपाली राजनीतिमा परिवारवाद हाबी हुँदा योग्यले मौका नपाएको पनि चर्चा हुने गरेको छ । रेणुको पहिलो पटकको उम्मेदवारीले पनि त्यस्तै संकेत गरेको थियो । प्रचण्डले राम्रालाईभन्दा हाम्रालाई प्राथमिक्ता दिए । राजनीतिमा ‘गेम चेन्जर’ को भूमिका निर्वाह गर्दै आएका प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने यता सधैंजसो चर्चाको केन्द्रविन्दूमा नै छन् ।
रेणुले २०७४ सालमा भरतपुरको मेयरमा उम्मेदवारी दिँदा पार्टीभित्र र देशभर विरोध भएको थियो । प्रचण्डले जनयुद्ध छोरीलाई मेयर बनाउन गरेको हो भनेर प्रश्न गर्ने पनि उत्तिकै थिए । तर पाँच वर्षपछि रेणुको उम्मेदवारीलाई सबैले अनुमोदन गरेको पाइएको छ । नेपाली कांग्रेसको बागी उम्मेदवार अझ ०७४ मा धाँधली गर्दा पनि थोरै मतान्तरलेमात्र जितेको आरोप लाग्ने गरेको रेणुले यो पटक राम्रो अंकमा मत ल्याइरहेकी छन् । उनलाई एमाले, कांग्रेस र राप्रपाका कार्यकर्तालेसमेत विश्वास गरेको पाइएको छ । नातावादका कारण राजनीतिमा प्रवेश गरे पनि काम गरेर आफू योग्य नै भएको रेणुले पुष्टि गरेकी छन् । उनले गरेको कामको जनताले मूल्यांकन गरेका छन् ।