काठमाडाैं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउँने क्रम जारी छ । स्थानीय तह निर्वाचन अन्तर्गत शनिवार साँझसम्म ७ सय ५३ पालिकामध्ये ६ सय ९५ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
६१ पालिकाको मतगणना जारी छ ।
नतिजा सार्वजनिक भएअनुसार नेपाली काँग्रेस ३ सय बढी स्थानमा विजयी बनेर पहिलो स्थानमा रहेको छ । काँग्रेसले ३०७ स्थानमा विजयी हासिल गरेको छ ।
यस्तै, १८८ स्थानमा जितेको एमाले दोस्रो स्थानमा रहेको छ । माओवादी केन्द्र ११९ स्थान जितेर तेस्रो स्थानमा रहेको छ।
मतगणना सम्पन्न भएका ६ सय ९५ पालिकामध्ये १९ स्थानमा महिला उम्मेदवार प्रमुखमा निर्वाचित भएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेबाट ७–७ जना महिला पालिकाको प्रमुखमा निर्वाचत भएका छन् भने नेकपा माओवादी केन्द्रको तर्फबाट ३ जना, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को तर्फबाट १–१ जना महिला स्थानीय तहको प्रमुखमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसकाे तर्फबाट प्रमुख पदमा विजय हासिल गरेका महिलामध्ये प्रदेश १ मा २ जना, सुदुरपश्चिम प्रदेशमा २ जना र क्रमश: कर्णाली, गण्डकी र मधेश प्रदेशमा १–१ जना रहेका छन् ।
त्यस्तै, नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा २ जना , वागमती प्रदेशमा २ जना, र मधेश प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ बाट १–१जना महिला निर्वाचित भएका छन् ।
माओवादीको तर्फबाट वागमती प्रदेशमा २ जना र प्रदेश १ मा १ जना महिला निर्वाचित भएका छन् । लोसपाबाट मधेश प्रदेशमा १ जना महिला नगर प्रमुखमा निर्वाचित भएकी छन् ।
२५ स्थानीय तह जितेको जनता समाजवादी पार्टी(जसपा) बाट कुनैपनि महिलाले प्रमुख पदमा विजयी हासिल गरेका छैनन् ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी)को तर्फबाट बागमती प्रदेश हेटौंडा उपमहानगरपालिकामा मिनाकुमारी लामा नगर प्रमुखको पदमा निर्वाचित हुनु भएको छ । लामा हेटौडा उपमहानगरपालिकामा निर्वाचित हुने पहिलो महिला प्रमुख बन्न सफल हुनु भएको छ ।
५८ स्थानको मतगणना जारी रहेको बेला ३ जना महिला उम्मेदवार प्रमुख पदमा अग्रता कायम गरेका छन् । नेपाली काग्रेंसबाट प्रदेश १ मा १ जना महिला उम्मेदवारले अग्रता कायम गरेकी छन् भने मधेश प्रदेशमा नेकपा एमालेको प्रमुख पदकी महिला उम्मेदवारले अग्रता कायम गरिरहेकी छन् ।
त्यस्तै,वागमती प्रदेशको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)तर्फबाट मेयर पदकी उम्मेदवार रेणु दाहालले अग्रता कायम गर्नुभएकाे छ ।