लौहपुरुष गणेशमान सिंह नेपाली राजनीतिक आन्दोलनको पर्यायवाची नाम हो । नेपाली काँग्रेसका सम्मानित नेता स्वर्गीय गणेशमान निष्ठा र त्यागको राजनीतिको पनि बिम्व हुन् । कालो टोपी, गलबन्दी र हातमा टेक्न बोकेको लौरो गणेशमानको बाहिरी परिचय थियो ।
उनै गणेशमानकी बुहारी सिर्जना सिंह यतिबेला चर्चाको केन्द्रबिन्दूमा छिन् । उनी काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र बालेन शाह र नेकपा एमालेका केशव स्थापितसँग प्रतिस्पर्धा गरिरहेकी छिन् । काठमाडौंको मतणना अहिले जारी रहँदा गणेशमानको लौरोको चर्चा पनि यतिबेला भइराखेको छ । किनभने त्यो लौरो अहिले गणेशमानको बिरासत मानेर राजनीति गर्नेमाथि नै बर्सिएको छ ।
लौरो भन्ने बित्तिकै जो कोहीको सोच एउटै हुन्छ, गणेशमान र लौरोको सम्बन्ध नङ र मासुको जतिको छ । हरेक मूर्तिकारदेखि गणेशमानको चित्र बनाउनेले उनको लौरो र गलबन्दी छुट्न हुँदैन भनेर विशेष ध्यान दिएको पाइन्छ । उनको लौरोको चर्चा आज किन गर्न आवश्यक रह्यो भने त्यो उनकै परिवारमाथि बर्सिएको छ । तर त्यो लौरो पनि आज अर्कैको हातमा छ । प्रहार सिंहको बिरासतमाथि भएको छ ।
स्थानीय तहको ९५ प्रतिशतभन्दा बढी स्थानको अन्तिम नतिजा आइसकेको छ । गणेशमानले नै लगानी गरेको पार्टी नेपाली कांग्रेस तीन सय बढी पालिका जितेर पहिलो पार्टी बनेको छ । तर पदका लागि राजनीति नगरेका उनै सिंहको राजनीतिक बिरासतलाई बढाउने बहानामा यतिखेर बुहारी चुनावी प्रतिस्पर्धामा छिन् । उनको हार त निश्चित भएको छ तर दोस्रो भएर कि तेस्रो भन्ने पर्ख र हेरको विषय बनेको छ । पदका लागि राजनीति नगरेका गणेशमानका परिवारले बिरासत जोगाउने बहानामा सक्षम र सबल पार्टीका कार्यकर्ता र नेतालाई पछि पारेर टिकट पनि आफैं हत्याउने प्रपञ्जमात्र गरिरहेका छन् । प्रधानमन्त्रीको अफरलाई समेत नकारेका गणेशमानको नाममा राजनीति गर्नेमाथि गणेशमानकै लौरो बर्सिएको छ । खैर, आज त्यो लौरो भने अरुको हातमा छ ।
गणेशमान र बिरासत
गणेशमानको बिरासत जोगाउने बहानामा योग्य उम्मेदवारले टिकट नपाउने गरेको कतिपय कांग्रेसीजनको नै आरोप छ । पदका लागि कहिले पनि राजनीति नगरेको गणेशमानको नाम बदनाम बनाउन उनको परिवार नै त सक्रिय छैन्, चासो र चिन्ताको विषय बनेको छ । जसले प्रधानमन्त्रीको अफरलाई समेत नकारे उनको नाममा राजनीति गर्नेलाई मत दिए गणेशमानको आत्माले समेत शान्ति पाउने छैन । गणेशमानले पद र पैसाका लागि होइन देश र जनताका लागि आन्दोलन गरेको उनको जीवनीमा पढ्न पाइन्छ । उनलाई नजिकबाट बुझेकाले गरेको टिप्पणी यस्तै सुन्न पाइन्छ ।
बिरासतबाट आएकालाई अनुमोदन गरे गणेशमानको आत्मा नै भड्किने छ । यत्रो भनिराख्दा बिरासतबाट आएका सबै खराब हुन्छन् भन्ने हुँदैन तर सबै राम्रा हुन्छन् भनेर पनि कसैले भन्न सक्दैन । देश निर्वाचनमय बनेको छ । लौह पुरुष गणेशमानलाई किन जोडियो भने उनैको बुहारी सिर्जना काठमाडौंको मेयरमा उठेकी छिन् तर पराजयको संघारमा छिन् । हुन त अन्तिम नतिजा आइसकेको छैन । तर टिकट नै सिर्जनाले पाउने बित्तिकै सिर्जनाले चुनाव हार्ने धेरै राजनीतिक विश्लेषकले ठोकुवा गरेका थिए । उनलाई हराउनको लागि नै अघि सारिएको कतिपयको टिप्पणी थियो । थुप्रै योग्यलाई पछि पारेर २०४७ सालदेखि राजनीतिक विश्राम गरेकी सिर्जनाले टिकट पाउँदा धेरै कांग्रेसी रुष्ट बनेका थिए ।
दिवंगत गणेशमानका दुई छोरा प्रदीपमान सिंह र प्रकाशमान सिंह तथा तीन छोरी डा मीना सिंह, कान्ता मानन्धर र रीता वैद्य हुन् । काठमाडौँ महानगरपालिकाका पूर्व नगरप्रमुख पीएल सिंह भने नेता सिंहका धर्मपुत्र हुन् । उनलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर, सर्वोच्च नेता आदि उपनामले पनि चिनिन्छ ।
उनै गणेशमानको अहिले बिरासतको राजनीति छोरा प्रकाशमान सिंहले सम्हालिरहेका छन् । काठमाडौं क्षेत्र नम्वर १ बाट सांसदमा निर्वाचित हुँदै आएका प्रकाशमानले यसपटक स्थानीया निर्वाचनमा आफ्नी पत्नी सिर्जनालाई अघि सारे । उनले श्रीमती निर्वाचित भए सक्रिय राजनीतिबाट बिदा हुने र सिर्जनालाई बिरासतको राजनीतिमा अगाडि बढाउने भन्नेसम्मको हल्ला बाहिरिएको थियो । तर सिर्जना पराजित भएसँगै त्यो सम्भावना तत्कालको लागि टरेको छ र प्रकाशमान आगामी संघीया चुनावमा प्रतिस्पर्धा गर्ने निश्चित छ ।
सिर्जनाले पनि परिवारका लागि आफू केही समय राजनीतिबाट टाढिएको बताएकी थिइन् । उनले परिवारलाई पहिलो प्राथमिकता दिएकाले आफ्नो राजनीति गर्ने मन हुँदा हुँदै टाढा बस्नु परेको बताएकी थिइन् । यस्ता यावत कारणले पनि अब प्रकाशमान साइलेन्ट बस्ने र सिर्जनालाई राजनीतिमा अगाडि बढाउने विश्लेषण हुनु स्वभाविक पनि थियो । तर सिर्जनाको हारले उनीहरुको सपनालाई तिलान्जली दियो ।
लौरो र गणेशमान
गणेशमानको बोली सँगसँगै ‘लौरो’ बढी प्रभावकारी थियो । निर्वाचनको प्रसंगमा भन्ने गरिन्थ्यो, ‘काठमाडौंमा गणेशमानले लौरो उठाए पनि जित्छ ।’ काठमाडौंमा लौरोले जित्ने त भयो तर त्यो लौरो अरु कसैको साथमा छ । लौरोले काठमाडौंमा जित्छ भन्ने पुरानो उखान नै थियो । तर गणेशमानको जित्छ भनिन्थ्यो अब बालेनको लौरो जित्छ भन्ने दिन पनि आयो । तर लौरो प्रसंग आउँदा सम्झिने गरेको गणेशमानको बिरासतमाथि नै लौरो बर्सिएको छ । लौरोको राजनीतिले देश तरंगित बनेको छ । लौरोले रुख र सूर्यको प्रकाशलाई काठमाडौंमा छेकेको छ । यसको सन्देश हो, काठमाडौंबासीले परम्परागत पार्टीको विकल्प खोजेको छ ।
उबेला गणेशमानको लौरोसँग विपक्षी डराउथे अहिले बालेको लौरोसँग डराउनपर्ने अवस्था छ । गणेशमान जीवीत हुँदाको एक प्रसंगमा उनको लौरो नै विजयी बन्यो । नगरपञ्चायतको निर्वाचनमा प्रतिबन्धित नेपाली कांग्रेसले ‘गणेशमानको लौरो’को नाममै काठमाडौं नगरपञ्चायतको प्रमुखमा हरिबोल भट्टराई र उपप्रमुखमा तीर्थराम डंगोललाई उम्मेदवार बनायो र दुवैले त्यो निर्वाचनमा विजय हासिल पनि गरे । उनै गणेशमान नेपाली कांग्रेस पार्टी र वामपन्थी पार्टीहरूको सहकार्यमा ०४६ सालको पञ्चायतविरुद्ध ‘वार कि पार’को आन्दोलनमा ‘कमान्डर’ बने । निकै छोटो समयमै त्यो आन्दोलनले आफ्नो रङ देखायो र एकदलीय पञ्चायत हटेर बहुदलीय व्यवस्थाको स्थापना भयो ।
२०४६ को सफल जनआन्दोलनपश्चात् बहुदलीय व्यवस्थाको अन्तरिम सरकारमा आग्रह गरिएको प्रधानमन्त्रीको पद अस्वीकार गरेर गणेशमानले सम्भवतः विश्वमै एउटा महान त्यागको उदाहरण दिएका थिए । उनैको लौरोले देशमा ठूलो परिवर्तन ल्यायो । उनी विरोधी उनको लौरोसँगै पनि पराजित भए तर आज फरक प्रसंग छ । सन्दर्भ उहीँ लौरो नै । कुरा उहीँ लौरोको भए पनि गणेशमानको लौरो बिरासतमाथि राजनीति गर्नेमाथि बर्सिएको छ । अझ गणेशमानलाई देखाएर राजनीति गर्नेमाथि लौरो बर्सिएको हो । तर समयले कोल्टे फेर्यो र गणेशमानको लौरो उतिखेर विरोधीमाथि बर्सिन्थ्यो भने यो समयमा बालेनको लौरो गणेशमानको परिवारमाथि बर्सिएको छ ।
उ बेला लौरो भन्दा सम्झिने गणेशमान यो बेला बालेन बनेका छन् । उ बेला व्यवस्था परिवर्तनका लागि गणेशमान, अहिले अवस्था परिवर्तनका लागि बालेन । उ बेला प्रधानमन्त्रीसमेत छाड्ने गणेशमान, यो बेला आफू मात्र होइन श्रीमतीलाई समेत टिकट दिलाउने प्रकाशमान । उ बेला राणा र राजा विरोधी आन्दोलनको नेतृत्वकर्ता गणेशमान, यो बेला परिवर्तनको नारा लिएका बालेन । उ बेला सबैको निम्ति सोच्ने गणेशमान, अहिले परिवारभन्दामाथि नउठ्ने प्रकाशमान ।
को हुन् गणेशमान
गणेशमान अध्ययनकै बेला भारतबाट नेपाल आएका बेला वि सं १९९७ सालमा नेपालको जेठो राजनीतिक दल राष्ट्रिय प्रजापरिषदको सदस्यताबाट उनको नेपालमा राजनीतिक जीवनको सुरूवात भयो । तर प्रजापरिषद सदस्यता लिएको दुई हप्तापछि अर्थात् विसं १९९७ असारमा नै उनको मंगलादेवीसँग विवाह भयो । यो विवाह गर्न जेठा बाजे र आमाले सिंहलाई आग्रह गरेका थिए । तर उनको गिरफ्तारी विवाहपश्चात् विसं १९९७ कात्तिक महिनामा भएको थियो । तत्कालीन राणा सरकारले सर्वश्वहरण सहित आजीवन कारावासको दण्ड दियो । उनीसँगै जेल परेका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो ।
जन्मजात विद्रोही गणेशमान सिंहलाई राणाको पर्खालले धेरै दिन कैद गर्न सकेन । २००१ साल वैशाखको एक रात भद्रगोल जेलको पर्खाल नाधेर उनी कैदमुक्त भए । जेलबाट भागेपछि उनी कृष्णबहादुर प्रधानका नाममा राणा विरोधी अभियान चलाउँदै राणा शासकहरूद्वारा देश निकाला गरिएको नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जीलिङ, सिक्किम, कालिङपोङ, कोलकाता, बनारस र लाहौर पुगे । उनको कोलकातामा वीपी कोइरालासँग २००१ सालमा सम्पर्क भयो । विश्वेश्वरसँग मिलेर उनले २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ सालमा नेपाली कांग्रेस बन्यो । उनी नेपाली कांग्रेसको संस्थापक नेता बने ।
विसं २००७ असोज ९, १० र ११ मा तत्कालीन जहॉनिया राणा शासनविरूद्ध भारतको बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित ुबैरगनिया सम्मेलनमा गणेशमान सिंह, खड्गजीत बराल, बहादुरसिंह बराल, डाक्टर केआई सिंह, मातृकाप्रसाद कोइराला, वीपी कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । बैरगनिया सम्मेलनमा भाग लिने जति सबैले तत्कालीन जहॉनिया राणा शासन फाल्न ‘डु अर डाई’ राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने नीति अपनाउन स्विकारेका थिए ।
२००८ सालमा नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले विश्वेश्वरप्रसादको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल त्यागे । २०१२ सालमा कांग्रेसको वीरगन्ज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका सिंह सुवर्ण शमशेरद्वारा पराजित भए । २०१५ सालको प्रथम संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौंको सांसद् पदमा विजयी भए । वीपी कोइरालाको नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाले ।
२०४६ साल माघ ५, ६ र ७ गते काठमाडौँको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित नेपाली काँग्रेसको सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरे । २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हाल्नुहुने सर्वाेच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो । तर आन्दोलनको क्रममा उनलाई घरमै नजरबन्द गरियो । गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो । जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा भएपछि चैत २७, २०४६ साल काठमाडौँको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई फादर अफ डेमोक्रेसीको रूपमा सम्मानित गरियो ।
२०४९ सालमा नेपाली कांग्रेसको झापा जिल्लाको कलबलगुडीमा सम्पन्न आठौं महाधिवेशनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग उनको मतभेद हुन पुग्यो । २०५१ साल भदौमा उनले नेपाली कांग्रेस छाडे । तर कांग्रेसले उनलाई कहिल्यै छाडेन । प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल नेपाली कांग्रेसको पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो । २०५३ साल वैशाखको नेपाली कांग्रेसको नवौं अधिवेशनमा अनुपस्थित रहेपनि उनलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै रह्यो ।
उनलाई आन्दोलनको क्रममा समातिएपछि उनको गुद्दद्वारमा लौरो घुसाउने अत्याचार गरिएको थियो भनेर भनिन्छ जसको कारण उनलाई हरेकदिन शौचक्रियामा बाधा हुने गर्दथ्यो । जनआन्दोलनपश्चात उनले राजा बीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई आस्वीकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाए । उनलाई लौहपुरुषको संज्ञा र उपाधी पनि दिइएको थियो ।