देशका अधिकांश पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । ९७ प्रतिशत पालिकाको मतपरिणाम सार्वजनिक हुँदा २०७४ को स्थानीय तहबाट पहिलो दल बनेको नेकपा एमालेलाई झड्का लागेको छ । पार्टी टुटफुट र कम्युनिस्टको मत विरोधी खेमामा पुग्दा एमाले कमजोर बन्यो ।
एमाले कमजोर बन्नुको अर्थ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फाइदा पुग्नु कदापी होइन । बरु वाम आन्दोलन गरेका र कम्युनिस्टमा आस्था राख्नेमाथि मतपरिणामले प्रहार गरेको छ । कुन पार्टी कहाँ चुक्यो, त्यो आगामी दिनमा समीक्षाको विषय हुन्छ । तर, यो मतपरिणामले समग्र कम्युनिस्टमाथि आस्था राख्नेमाथि प्रहार गरेको छर्लङ भएको छ ।
एमालेको गफ र मतपरिणाम
वैशाख ३० गतेको चुनाव नजिकिँदै जाँदा नेकपा एमालेका हाइकमान्डका नेताहरुले पार्टी पहिलो हुने दाबी गरे । देश चुनावमय हुँदै थियो, एमालेले निर्वाचन लक्षित कार्यक्रमहरुलाई जोडबलका साथ ठाउँठाउँमा गरिरहेको थियो । अध्यक्ष केपी शर्मा ओलीले एमाले नै पहिलो बन्ने दाबीमात्र गरेनन्, विपक्षी सधैंलाई नउठ्नेगरी लडाइदिने समेतको चेतावनी दिन भ्याए । तर, त्यो चेतावनी धेरै दिन टिक्नै सकेन् ।
एमालेबाट माधवकुमार नेपाल फुटेर गएपछि पार्टी त कमजोर बनेकै थियो । किन कि एमालेलाई नेतृत्व गरेका नेताहरु फुटेर जाँदा उनीहरुसँगै पार्टीको केही हिस्सासँगै जानु स्वभाविक हो । पार्टी चोइटिएकोमात्र भन्न भ्याउने एमालेका नेतालाई यसपटक मतपरिणामले ठूलो धक्का दिएको छ । एमालेको गफलेमात्र पार्टी चल्दैन । सरकारमा जाने हो भने पार्टी संगठन बलियो हुनुपर्छ । तर स्थानीय तहको चुुनावले एमाले फेरि सरकारमा जाने बाटो बन्द गरिदिएको हो कि ? भन्ने महसुस गराएको छ ।
एमालेले २०७४ को स्थानीय तहको चुनावमा २९४ पालिका जितेको थियो । तर अहिलेको मतपरिणाम हेर्दा एमालेले २०० भन्दा बढी पालिकामात्र जित्ने अवस्था छ । यो एमालेलाई आगामी संघीय र प्रदेशको निर्वाचनमा झड्का लाग्दैछ भन्ने संकेत हो । एमाले संसदीय निर्वाचनमा दोस्रो भए सरकारमा जाने त परको कुरा सोच्न पनि पाप लाग्छ भने जतिकै हुनेछ । किनकि एमोलेविरुद्ध गठबन्धन गरेका दलको एकमात्र ध्येय एमालेलाई सरकार बाहिर रोकेर राख्नु नै हो ।
एकीकृत समाजवादीको खस्कदो लोकप्रियता
वर्तमान अवस्थामा अस्तित्वमा रहेका ३ प्रमुख कम्युनिस्ट पार्टीमध्ये नेकपा एकीकृत समाजवादी पनि एक हो । संसदमा चौथो हैसियतमा रहेको यो पार्टीको जन्म भएको धेरै त भएको छैन । तर, यो पार्टी निर्माणपश्चात् एमालेलाई भने ठूलो क्षति भएको छ । एकीृकत समाजवादीको उदयसँगै नेकपा एमालेले नेतृत्व गरिरहेको सबै प्रदेश सरकारबाट एमाले बाहिरियो ।
अहिलेसम्मको राजनीतिक डिस्कोर्स हेर्दा एकीकृत समाजवादी आफू बन्नेभन्दा पनि एमालेलाई पत्तासाफ गर्ने रणनीतिमा सफल भएको छ । ओली र ओलीप्रवृत्तिको सेखी झार्ने अभियानमा केही हदसम्म एकीकृत समाजवादी सफल भएको देखिएको छ । तर स्थानीय तह निर्वाचनमा उसको उपलब्धी सन्तोषप्रद त भएन नै, अप्रत्यासित रहेको । किनभने एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्यभन्दा कम पालिका प्रमुख निर्वाचित बने । एकीकृत समाजवादीका हाइकमान्डका नेताले पनि पार्टी सोचेअनुरुपको परिणाम नआएको स्वीकार गरेका छन् । उनीहरुले पार्टीको हारको समीक्षा गर्ने बताइरहेका छन् । र, कतिपय स्थानमा गठबन्धनबाट नै धोका भएको उनीहरुको आरोप छ ।
संसदीय निर्वाचनमा पनि यस्तै किसिमको परिणाम आए समाजवादीको हैसियत त घट्ने नै छ । जनताले पनि विश्वास गर्ने आधार कमजोर बन्ने छ । नेपाली कांग्रेसको रुखले कहिलेसम्म शितल प्रदान गर्छ, त्यो समाजवादीका नेताले सोच्ने बेला आएको छ । किनकि समीक्षा गर्न ढिलो भए नेपालमा कम्युनिस्ट पार्टीको लोकप्रियता खस्किन्छ । कम्युनिस्टको लोकप्रियता खस्कनु भनेको माओवादी केन्द्र, एकीकृत समाजवादी र एमाले कसैका लागि शुभ संकेत होइन । यसको प्रत्यक्ष लाभ कांग्रेसले लिने छ । अनि कांग्रेसले भन्ने छ, ‘हामीले भनेका थियौं नि नेपालका कम्युनिस्ट सरकारमा जान लायक छैनन् । जनताको मतको कम्युनिस्ट नेताहरुले कदर गर्न जान्दैनन् । उनीहरु आफैंबीच त ठूलो कि, म भन्ने प्रतिस्पर्धा चलिरहेको छ । उनीहरुले देश विकासमा समय दिन पाउँदैनन् । उनीहरु एकअर्कालाई सिध्याउने अभियानमा छन्, नेपालको विकल्पमात्र कांग्रेस हो ।’
माओवादीलाई नतिजा कतिको फलदायी
नेकपा माओवादी केन्द्र २०७४ को निर्वाचनभन्दा केही ठूलो बन्यो । माओवादीको रणनीति पनि एमालेलाई पत्तासाफ गर्ने नै थियो । उ पनि कति सफल भयो, त्यो भविष्यले प्रमाणित गर्नेछ । किन कि अब दुई दशक कम्युनिस्टको शासन गर्ने भनेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनैतिक जीत हो कि हार हो, समीक्षाको विषय बनेको छ ।
माओवादी केन्द्र सधैं अरुलाई सत्ताको भर्याङ्ग बन्ने गरेको यथार्थ नै हो । यसपटकको निर्वाचन मतपरिणामले पनि नेपाली कांग्रेसको दह्रो सत्ताको भर्याङ्ग बन्न माओवादी केन्द्र सफल भएको छ । माओवादी केन्द्रमा मतपरिणामले उत्साह त थपेको छ नै, एमालेको सत्ता यात्रालाई पूर्णविराम लगाउने सपनामाथि थप मलजल गरेको छ । तर माओवादीले कम्युनिस्टलाई रोकेर आफू पनि सत्ताको नेतृत्व नगरेर कहिलेसम्म कांग्रेसलाई साथ दिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।
सधैंभर अरुको आडमात्र बन्ने हो भने माओवादीको अर्थचाहिँ के भन्ने प्रश्न पनि उठ््छ । कम्युनिस्टको लडाइले विपक्षी विचार नै नमिल्नेलाई फाइदा पुर्याएको प्रष्ट हुन्छ । त्यहीभएर प्रचण्डले कांग्रेसलाई कहिलेसम्म काखी च्याप्छन्, कम्युनिस्ट समर्थकलाई चिन्ताको विषय बनेको छ । कम्युनिस्ट विचारको पूजा गर्नेहरु चाँहे एमाले सत्तामा आओस् वा माओवादी त्यो कल्पना गर्न सक्छन् । तर आफ्नो मत सधैं कांग्रेसलाई दिएर उनीहरु सत्ताको भर्याङ्गमात्र बनेको हेर्न सक्दैनन् ।
कांग्रेस–कम्युनिस्टमा को बलियो ?
चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको अवस्थाले कांग्रेसलाई फाइदा पुगेको छ भने फुटेको दुई पार्टी सबैभन्दा घाटामा छन् । एमालेलाई यो परिणाम निल्नू न ओकल्नू भएको छ । यता एमालेबाट नै फुटेको समाजवादीका लागि पनि नतिजा फलदायी हुन सकेन ।
तर कम्युनिस्टलाई एक ठाउँमा राखेर मतपरिणामको समीक्षा गर्ने हो भने समग्र नतिजालाई फलदायी मान्न सकिन्छ । नेपाली कांग्रेसभन्दा एकपटक नेकपामा रहेका तीन दल माओवादी, एमाले र समाजवादी बलियो देखिएका छन् । तर उनीहरु तीनतिर भएकाले कांग्रेसले हाम्रा कारणले माओवादीको हैसियत बढ्यो भनेर पनि भनिरहेको छ । उता समाजवादीको अस्तित्व बचाउने रक्षाकवच पनि कांग्रेसले पहिरिदिएको दाबी गरिरहेको छ । यता कम्युनिस्टहरु भने आफैं लडाइ गरिरहेका छन् ।
विचार नै नमिल्ने माओवादीको खेमामा रहेर कांग्रेसले सत्ताको स्वाद भने लिइरहेको छ । र, लिने नै छ आगामी दिनमा पनि । कम्युनिस्टको लडाइले सधैंभर फाइदा भने कांग्रेसलाई नै हुनेछ । मतदाता पनि कांग्रेसभन्दा कम्युनिस्टको बढी छ तर परिवारको लडाइले फाइदा भने बाहिरकाले लिइरहेको छ । नयाँ मतदातामा पनि कम्युनिस्ट आफैं मिल्न सक्दैनन् भन्ने छाप परिरहेको छ । यसको असर पछिसम्म पनि पर्ने देखिएको छ । जीवनमा पहिलोपटक मत हालेकाले कम्युनिस्टको विचारलाई शिरोधार्य गरेर कांग्रेसमा मत हाल्दा भविष्यको परिणाम के हुन्छ ? सबैले सोच्नु पर्ने समय आएको छ । अब पनि कम्युनिस्ट एक भएर जान नसके, कम्युनिस्टले सत्ताको नेतृत्व गर्ने सपना कहिले पनि यथार्थमा परिणत हुन सक्दैन् ।
प्रचण्ड, ओली र माधवबीच आरोप प्रत्यारोप
एमाले अध्यक्ष केपी ओलीलाई माधवकुमार नेपाल र प्रचण्डले खलनायक पात्रका रुपमा परिभाषित गरिरहेका छन् । माधव र प्रचण्डको ईगोहर्टका कारण उनीहरु एमालेभन्दा पनि ओलीमाथि खनिरहेका छन् । उनीहरु ओली शेखपछि फेरि बाम एकता गर्नुपर्ने लाइनमा छन् । तर, ओलीलाई लिएर एकता हुने सम्भावना कुनै किसिमको नरहेको प्रचण्ड र माधवको दाबी छ ।
यता ओली पनि प्रचण्ड र माधवलाई लिएर वाम एकता सम्भव नभएको दाबी गर्दै आएका छन् । उनले त अझ् एउटा कार्यक्रममा माधवको नाम लिएपछि मुख कुल्ला गर्नुपर्नेसमेतको अभिव्यक्ति दिएका थिए । माधव र प्रचण्ड नेकपा एक हुँदा एक लाइनमा थिए । पछि अदालतको फैसलाले नेकपा पुरानै हैसियतमा पुगेपछि माओवादी र एमाले छुट्यो । अनि माधव नेपाल पनि संविधानविरोधी केपी ओलीसँग बस्न नसक्ने भनेर छुटेर गए । चुनावी नतिजाले माधवलाई पनि धक्का दिएको छ । यता केपी ओलीलाई त जिन्दगीको सबैभन्दा ठूलो झड्का लागेकै छ । आफ्नो नेतृत्वमा पहिलो पार्टी बनाएको श्रेय ओलीलाई जाने गरेको छ । तर अब दोस्रोमा पुर्याएको श्रेय पनि ओलीले लिनुपर्छ । र, हारको अब गम्भीर समीक्षा गर्नुपर्छ ।
कम्युनिस्टका शिर्ष नेताहरु भएर पनि माधव, प्रचण्ड र ओली एकअर्काको अनुहार हेर्ने मुडमा नहुनु कम्युनिस्ट मतदाताका लागि घातक पक्ष हो । उनीहरु मिलेर सरकार चलाउनु पर्नेसम्मको कुराहरु हुन थालिसकेका छन् । कांग्रेसलाई साथ दिएर कम्युनिस्टको मतको कहिलेसम्म अवमुल्यन गर्ने हो भनेर पनि मतदाता प्रश्न गरिरहेका छन् । माधव नेपाल एमालेबाट नै प्रधानमन्त्री बनिसकेका छन् । उनलाई एमालेले गुण लगाएको छ । उनले पनि एमाले पार्टी निर्माणको जस आफैं लिने गरेका छन् । तर उनैले आज एमाले सिध्याउने रणनीतिमा लाग्नुले बाम आन्दोलन र कम्युनिस्ट नेताको बुद्धिमा बिर्को लागेको छ भनेर भन्न कसैलाई असजिलो लाग्ने छैन । तीन नेताबीचको आरोप र प्रत्यारोपले सिद्धान्त र विचार नै फरक भएकालाई फाइदा पुग्नु कतिसम्मको जायज कुरा हो, त्यो पनि समीक्षाको विषय बन्नु पर्छ कि पर्दैन ।
कम्युनिस्ट एक होऔं
कम्युनिस्ट एक हुनुपर्ने आवाजहरु फेरि उठ्न थालेको छ । विगतमा भएका कमीकमजोरीको आत्मसमीक्षा गरेर बाम जति सबै एक भएर अगाडि बढ्नु पर्ने कम्युनिस्ट मतदाताको समेत माग रहेको छ । यसैबीच बाम एकता आवश्यकताबारे फेरि कम्युनिस्ट नेताहरु एकजुट हुन थालेका छन् । उनीहरु सबैको कमीकमजोरीलाई केलाएर अघि बढ्नु पर्ने लाइनमा देखा परेका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यसैबीच वाम एकताको कुरा निकालेका छन् । उनले सबैजना एक भएर अघि बढ्नु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भने, ‘अन्ततः एमालेले लामो निरर्थक संसद अबरोध अन्त्य गर्याे । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पथ्र्यो । ढिलै भए पनि विवेकले काम गर्यो, राम्रो गर्यो । एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं ।’
एमालेका कतिपय नेताले पनि बाम एकताबारे गम्भिर छलफल हुनुपर्ने बताइसकेका छन् । एमालेकी सचिव पद्माकुमारी अर्यालले एक कार्यक्रममा वाम एकताबारे समीक्षा गर्नु पर्ने र वाम एकतामा एमाले खुला रहेको अभिव्यक्ति दिएकी थिईन् । अब सबै मिलेर कम्युनिस्टलाई एक बनाउन लागे समग्र वाम एकता र कम्युनिस्टमाथि विश्वास राख्नेको जित हुनेछ । हिजो भएका गल्ती, कमीकमजोरी सच्याएर अघि बढ्नु नै हित हुने छ । परिवारको घरझगडाका कारण छिमेकीलाई कहिलेसम्म फाइदा पुर्याइरहने ? अब सोच्ने बेला भएको छ । अब नसोचे धेरै ढिलो हुनेछ । यसको मूल्य समग्र कम्युनिस्ट आन्दोलनले नै चुकाउनु पर्नेछ । समीक्षा गरौं, हातेमालो गरौं र देश बनाउने अभियानमा कम्युनिस्ट एक होऔं ।
कांग्रेसलाई कम्युनिस्टको भर, उल्टै तथानाम गाली र बेइज्जती
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टका कारण आफू फेरि प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् । नदेखुन पनि किन देउवाको बोलीलाई नै सापटी माग्ने हो भने नेपालमा कुनै पनि पार्टीको बहुमत आउने अवस्था छैन । देउवालाई प्रधानमन्त्रीको अफर गरेर संसद्को तेस्रो ठुलो दल माओवादी केन्द्र सरकारमा सहयोगी दल बनेर बसेको छ । त्यहीभएर देउवा छैटौं पटक प्रधानमन्त्री बन्नेमा एकदम आशावादी छन् ।
अन्य कांग्रेसका नेताले जे भने पनि राजनीतिका पुराना खेलाडी देउवाले सरकार बन्ने सिनारियो बुझेका छन् । त्यही कारण पनि देउवा कुनै पनि हालतमा प्रचण्ड र माधवलाई रुष्ट बनाउन चाँहदैनन् । उनले त बरु गठबन्धनविरुद्ध नबोल्न नेताहरुलाई चेतावनीसम्म दिएका छन् । तर आफ्नै कांग्रेसका नेतालाई सम्झाउँदा सम्झाउँदा देउवा नै थाकिसकेका छन् । किन कि उनीहरु प्रचण्ड र माधवको अस्तित्व बचाउन कांग्रेसले भूमिका खेलेको भनिरहन्छन् । भर्खरमात्र देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालाले कांग्रेस एक्लै लडेको भए बढी पालिका जित्थ्यो भन्ने दम्भीपूर्ण अभिव्यक्ति दिए । उनलाई यो स्थान दिलाउन माओवादीले गरेको गुण बिर्सिए । बरु उनी त उल्टै माओवादीमाथि खनिए । यो सरासर कांग्रेसले माओवादीमाथि गरेको
अपमानबाहेक अरु के हुन सक्छ ?
एकै विचार, एकै सिद्धान्त र अझ बढी त कम्युनिस्ट भएर माओवादी–एमाले मिल्न सकेन । घर नै आगो लगाएर हिँड्ने ओली, प्रचण्ड र माधवले कमसेकम अबको निर्वाचन अघि नै ठण्डा दिमागमा सोच्न आवश्यक छ । आफूहरुको आडमा अरुलाई कहिलेसम्म सत्तारोहण गर्ने कम्युनिस्टका हिमायती भनाउँदा नेताहरुले सोच्नै पर्छ । नभए आगामी निर्वाचनमा भोग्नपर्ने पराजय झन दर्दनाकपूर्ण हुन्छ । कम्युनिस्ट मतदाताको पनि नेताहरुबाट विश्वास उठ्न सक्छ । जति नै झगडा परे पनि आफ्नो घरमा आगो लगाएर अरुको घरमा कति समय बस्न सकिन्छ । बसे पनि त्यहाँ कस्ता किसिमका अपमान सह्नु पर्छ, यो सबै नेताले सोच्न आवश्यक छ । नसोचे कम्युनिस्ट आन्दोलनमाथि तीलान्जली दिएको कहलिनेछ । मतदाताको विश्वासमाथि पाँच वर्ष सरकार चलाउन मत दिएको जनताको नजरमा अहिले नै असफल भएको नराम्रो छाप परिसकेको छ । अब एकपटक फेरि कम्युनिस्टको सरकार बनाउन सबै जनाले पहल गर्नुपर्छ । जति नै झगडा किन नहोस घर सबैलाई आफ्नो नै प्यारो हुन्छ । थर सधैं एउटै नै हुन्छ । थर भनेको माधव, प्रचण्ड र ओली सबैको कम्युनिस्ट नै हो । उनीहरु केहीँ पनि नमिल्ने कांग्रेसँग धेरै समय बस्नु राम्रो हुँदैन ।
देउवालाई प्रधानमन्त्री नै बनाउन त माओवादी र एकीकृत समाजवादीमा किन मत हाल्नु ? कांग्रेसमा नै हाले हुँदैन भनेर कसैले भन्यो भने जवाफ के दिने भन्ने मूल प्रश्न हो । अब पनि सबैले आफ्नो गल्ती स्वीकारेर अघि नबढे वाम आन्दोलनको अस्तित्व नै धरापमा पर्छ । कम्युनिस्टहरु दम्भी र घमण्डी स्वभावका हुन्छन् भनेर होइन् उद्धार र खुला भावनाका हुन्छन् भनेर प्रमाणित गर्ने समय हो यो । अब विगतका गल्तीलाई दोहोर्याउँदैनौं भनेर नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ । हिजो कहाँ चुक्यो, अब त्यो हुन नदिन के गर्नुपर्छ ? गर्नतर्फ सोच्न ढिलाइ गर्ने समय होइन यो ।
सबैले उदार भएर वाम एकताको पक्षमा मनन गर्न खाँचो भएको छ । समग्र कम्युनिस्ट मतदाताको मतको सम्मान गरेर अघि बढे त्यसले सबै वामपन्थीको हीत नै गर्नेछ । आगामी निर्वाचनसम्म सबैले देश र जनताको हित के मा हुन्छ, त्यो समीक्षा गरौं ।